भेरीले १३४ औं वार्षिकोत्सव मनायो


नेपालगन्ज – भेरी अस्पताल, नेपालगन्जले १३४ औं वार्षिकोत्सव मनाएको छ ।
भेरी देशकै जेठोमध्येको अस्पताल हो । वि.सं. १९४७ सालमा पृथ्वी वीर अस्पताल डिस्पेन्सरीको नाममा स्थापना भएको अस्पताल वि.सं. २०१६ सालमा रत्नराज्य लक्ष्मीदेवी प्रसुती गृह नामाकरण भएको थियो । वि.सं. २०२२ सालमा भेरी अञ्चल अस्पताल भनियो । ५० बेडबाट शुरु भएको अस्पताल वि.सं. २०४३ सालमा सय बेड र हाल अस्पताल विकास समितिले ५० बेड स्वीकृत गरेर एक सय ५० बेड क्षमताको रहेको छ ।
वि.सं. २०७५ फाल्गुन ३ गतेको निर्णयबाट सरकारले यस अस्पताललाई विशिष्टिकृत सेवा प्रदान गर्ने विशेषज्ञ अस्पतालको रुपमा स्तरोन्नति गरी संघ मातहत राख्ने निर्णय गरेको छ । आर्थिक वर्ष २०७६–७७ को नीति तथा कार्यक्रममा भेरीलाई विशिष्टकृत सेवा प्रदान गर्ने गरी ५ सय शैयाको विशेषज्ञ अस्पतालको रुपमा अगाडि बढाउने घोषणा भयो । त्यसपछि २४० शैयाको अन्तरंगविभाग, ३० शैयाको आपतकालिन कक्ष, अत्याधुनिक शल्य कक्ष, प्रशासनिक कक्षसहितको भवन निर्माण भयो । चालु आर्थिक वर्षमा अत्याधुनिक पोष्टमार्टम भवन, चिकित्सक र नर्सिङ स्टाफका लागि आवासीय भवन र थप २६० शैयाको अन्तरंग विभाग र १८ वटा ओपीडीसहितको भवन निर्माणको कार्यको स्रोत सुनिश्चितताका लागि काम अगाडि बढिरहेको छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. प्रकाशबहादुर थापाका अनुसार, भेरीमा जनरल सेवासंगै क्याथ ल्याब, न्यूरो सर्जरी सेवा, स्पाइनल इन्जुरी सेवा, अर्थरोस्कोपी, तथा जोर्नी प्रत्यारोपण सेवा, ग्यास्ट्रो सर्जरी, यूरो सर्जरी, सिकलसेल एनिमिया, थालसेमिया उपचार सेवा उपलब्ध छन् ।
अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाहको अध्यक्षतामा भएको वार्षिकोत्सवमा संघीय सांसद किशोरसिंह राठौर, प्रदेशमन्त्री बादसाह कुर्मी, पूर्वमन्त्री रत्न खत्री, प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाललगायतको उपस्थिति थियो । त्यस अवसरमा सांगीतिक प्रस्तुतीसँगै उत्कृष्ट कर्मचरी, कर्मचारीका बीचमा खेलाइएका विभिन्न खेलका विजेताहरुलाई पुरस्कृत गरिएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !