गोली हानेर फरार प्रतिवादी पक्राउ


नेपालगन्ज – बाँके प्रहरीले गोली हानेर फरार प्रतिवादीलाई पक्राउ गरेको छ । त्यसक्रममा स्थानीयसँग झडप हुँदा एक जना प्रहरी घाइते भएका छन् भने अर्का स्थानीयलाई गोली हानिएको छ ।
डुडुवा गाउँपालिका वडा नं. ६, सिखनपुरुवाका डाँका चोरी मुद्दाका प्रतिवादी सरमानसिंह सरदारलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले सरदारलाई हत्कडी लगाएर ल्याउदै गर्दा स्थानीय प्रतिकारमा उत्रिए । त्यसक्रममा झडप भयो । हत्कडीसहित सरदार फरार भए । प्रहरीले हवाई फायर ग¥यो । स्थिति सामान्य भएन । प्रहरीकै हतियार खोस्ने प्रयास भयो । वरिष्ठ प्रहरी हवल्दार मदन डाँगी घाइते भए । प्रहरीले हत्कडीसहित भाग्दै गरेका सरमानसिंह र हतियार खोस्न अघि सरेका नानक सिंखलाई गोली हानेर नियन्त्रणमा लिएको छ । सरमानलाई दाया घुडामुनि र नानकलाई दाया खुट्टाको साप्रामा गोली लागेको छ । गोली लागेका दुई जना र ढुंगा लागेर घाइते भएका प्रहरी वरिष्ठ हवल्दारको भेरी अस्पतालमा उपचार भइरहेको छ ।
घटना आज विहान साढे ८ बजेको हो । सरमानसिंह सरदारलाई डाँका चोरी मुद्दामा जिल्ला अदालतले २०७० असार १८ गते ६ वर्ष कैद र १२ हजार जरिवानाको सजाय सुनाएको थियो । त्यसयता उनी फरार थिए । फैसला कार्यान्वयनको टोली सरदारलाई नियन्त्रण गर्न सिखनपुरुवा पुगेको थियो ।
बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले डाँका चोरी मुद्दामा अदालतबाट सजाय तोकिएका सरमानसिंहलाई पक्राउ गरेर ल्याउदा स्थानीयले प्रतिकार गरेर प्रहरीकै हतियार खोस्न आएपछि तीन राउण्ड गोली चलाएको र दुई जनालाई नियन्त्रणमा लिएको जानकारी दिए ।


error: यो सुविधा उपलब्ध छैन !