लुम्बिनी प्राविधिक विश्विवद्यालयकाे दाेस्राे वार्षिक समाराेह

नेपालगन्ज – लुम्बिनी प्राविधिक विश्वविद्यालय विदेशमा लर्को लागेर जाने विद्यार्थीलाई रोक्न सक्षम हुने वक्ताहरुले बताएका छन् ।
बाँकेको खजुरामा बन्दै गरेको विश्वविद्यालयको मंगलबार नेपालगञ्जमा आयोजित दोस्रो वार्षिक समारोहमा विभिन्न व्यक्तित्वहरुले नेपालमा मात्रै नभएर विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्न यो विश्वविद्यालय सफल हुने विश्वास व्यक्त गरे ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं विश्वविद्यालयका कुलपति जोगबहादुर महराले लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई नमूना विश्वविद्यालय बनाउदै दक्ष जनशक्ति उत्पादनमा सफल बनाउनु पर्ने बताउनुभयो ।
यो प्राविधिक विश्विद्यालयमा पढेका विद्यार्थीलाई रोजगार सिर्जना गर्न सक्ने बनाउनु पर्नेमा जोड दिदै मुख्यमन्त्री महराले सबै मिलेर छिटो संरचना बनाउनु पर्ने बताउनुभयो ।
गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले लुम्बिनी र गण्डकी विश्वविद्यालयका विचमा सिकाई आदान प्रदान गर्न सकिने बताउनुभयो ।
लुम्बिनीका पूर्व मुख्यमन्त्री एवं संस्थापक कुलपति कुलबहादुर केसीले एक थान विश्वविद्यालय बढाउनमात्रै नभई लुम्बिनीमा आइटीका दक्ष जनशक्ति उत्पादन गर्न, विदेश जाने लर्कोलाई रोक्न र यही रोजगार सिर्जना गर्र्ने गरी अघि बढेको बताउनुभयो ।
सामाजिक विकास मन्त्री एवं सहकुलपति रत्नबहादुर खत्रीले विश्वविद्यालयको नाममा छिटो जग्गा ल्याएर संरचना बनाउनु पर्नेमा जोड दिनुभयो ।
विश्वविद्यालयमा अहिले नेपालगन्जमा सञ्चालनमा रहेको छ । करिव ४० जना विद्यार्थीले पढिरहेका छन् । खजुरा गाउँपालिका वडा नं. ८ मा विश्वविद्यालय बनाउने निर्णय गरेर प्रक्रिया अघि बढेको छ । विद्यार्थीले साहित्यिक र सांस्कृतिक प्रस्तुती गरेको दोस्रो वार्षिक समारोहमा उपकुलपति विनोदप्रसाद ढकाल, प्रदेश सांसद मिना श्रेष्ठ, दुर्गा चौधरी, महेन्द्र बहुमुखी क्याम्पसका प्रमुख लालमणि आचार्य, खजुरा गाउँपालिकाका उपाध्यक्ष मन्जु मल्ल, नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष टंकबहादुर धामीलगायतले शुभकामना मन्तब्य व्यक्त गर्नु भएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !