´संस्कार’ सिकाउदै पालिका


नेपालगन्ज – बालबालिका मोबाइलमा व्यस्त हुने, ठूलाबडाले भनेको नमान्ने प्रवृत्ति हावी हुँदै गएको छ । कुलत र गलत काममा लागेकाको कुरा नै भिन्दै भयो ।
बाँकेजस्तो सीमावर्ती जिल्लाको कुरा गर्ने हो भने सानैदेखि लागु औषधजस्तो दलदलमा फसेको पाइन्छ । चोरी र अपराधमा प्रयोग भएका बालकको संख्या पनि कमी छैन यहाँ । नेपालगन्ज बजारमा दैनिकजसो हुने चोरीका घटनामा बालक र किशोरकै संलग्नता हुने गरेको प्रहरीको निष्कर्ष रहेको छ । कतिपयलाई पक्राउ गरेर कारबाही गरिएको छ पनि ।
अभिभावकले पर्याप्त समय दिन नसकेर बालबालिकालाई बिग्रेका हुन् त ? एउटा कोणबाट हेर्दा यसमा पनि सत्यता रहेको छ । एकथरीको भनाईमा कामको सिलसिलामा अभिभावक विहानै घरबाट निस्किने र बेलुका फर्किने अनि बालबालिकालाई समय दिन नसक्दा उनीहरु मनोमानी भएका हुन सक्छन् ।
बाँकेको डुडुवा गाउँपालिकाले बालबालिकालाई संस्कार सिकाउन र ठूलाबडालाई सम्मान गर्न नयाँ नीति अघि बढाएको छ । नेपालगन्जसँग जोडिएको डुडुवाले विहान उठ्ने वित्तिकै आफू भन्दा ठूलालाई ढोग्नुपर्ने नियम बनाएको छ । गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरीले घर व्यक्तिको पहिलो पाठशाला भएकाले संस्कार र नैतिक शिक्षा विकास गर्ने उद्देश्यले उठ्ने वित्तिकै आफ्ना अग्रजलाई ढोग्ने नियम बनाएको बताउनुभयो ।
पालिकाले यसका लागि आफ्नै पाठ्यपुस्तक तयार गर्दैछ । संस्कार र नैतिक शिक्षासँगै राष्ट्र, राष्ट्रियता र देशभक्तिले ओतप्रोत गर्ने खालको पाठ्यपुस्तक तयार गर्ने अध्यक्ष चौधरीले बताउनुभयो ।
पालिकाले सबै शिक्षकलाई तीन दिनको तालिम दिइसकेको छ । नीति तथा कार्यक्रममा समेटिएको यो विषयलाई स्कूलमा कडाईका साथ पालना गराउने रणनीति बनाइएको छ । कुन बच्चाले आज अग्रजलाई ढोगेर आयो कि आएन ? शिक्षकले स्कूलमा सोध्नु पर्दछ । कुनै बच्चाले अभिभावकलाई ढोगेर आएको छैन भने त्यो घरमा गएर शिक्षकले सम्झाउने र बालबालिकालाई सिकाउन भनिएको छ ।
डुडुवा मधेसी बाहुल्यता भएको पालिका हो । त्यहाँ हिन्दु र मुस्लिम दुवैको बाक्लो बसोबास रहेको छ । सबै धर्मका बालबालिकालाई आफ्नो धर्म अनुसार अभिभावकलाई सम्मान गर्न भनिएको छ ।
यो पालिकाले कन्या मुद्दति खाता सञ्चालन गरेर बालिकालाई पढ्न प्रोत्साहन गरेको छ । बालिका जन्मिने वित्तिकै पालिकाले उसको नाममा खाता खोलेर दश हजार रुपैया राखिदिने गर्दछ । त्यो पैसा उसले एसईई गरेपछि निकाल्न पाउँछ । यसले बालविवाह हटाउन मद्दत पुगेको छ । मधेसी समुदायमा सानै विवाह हुने र गौना, थौना, आला, चाला गरेपछि घरमा पठाउने चलन रहेको छ । पालिकाले ल्याएको कन्या मुद्दति खाताले बालिकालाई पढ्न र बालविवाह नगर्न प्रोत्साहत गरेको छ । बीचैमा विद्यालय छोड्नेको संख्या घटेको छ । बालिकाको दुर्घटना बीमा गराएको छ । पालिकाले एसईई गरेका बालिकालाई साइकल दिने गरेको छ । बालिकालाई आत्मरक्षाका लागि विद्यालयमा जुडो कार्यक्रम सञ्चालन गर्ने नीति अघि सारेको छ ।


error: यो सुविधा उपलब्ध छैन !