जानकीमा अध्यक्ष कप शुरु

नेपालगञ्ज – बाँकेको जानकी गाउँपालिकामा १२ औं राष्ट्रपति रनिङ्ग शिल्ड तथा दोस्रो गाउँपालिका अध्यक्ष कप प्रतियोगिता शुरु भएको छ ।
प्रतियोगिताको उद्घाटन गर्दै प्रदेशसभा सदस्य बाबुराम गौतमले गाउँपालिकास्तरबाटै खेलकुदलाई प्राथमिकताका साथ बजेट विनियोजन गर्नुपर्ने बताउनुभयो । उहाँले विद्यार्थी क्षमता बृद्धिका लागि खेलकुद प्रतियोगिता अति आवश्यक रहेको उल्लेख गर्नु भयो ।
मानव सभ्यताको सर्वोपरी शिक्षा भएको प्रसंग जोड्दै उहाँले समाजलाई अगाडि बढाउन सक्ने व्यवहारिक र गुणस्तरीय शिक्षा प्रदान गर्नतर्फ शिक्षकहरुले ध्यान दिन आग्रह गर्नुभयो । शिक्षा देश विकासको पहिलो खुड्किलो पनि भएकोले स्थानीय सरकारले यसलाई प्राथमिकता दिनुपर्ने उहाँको भनाई थियो ।
गाउँपालिका अध्यक्ष रामनिवास यादवले जानकी गाउँपालिकाले भौतिक पूर्वाधार सँगसँगै शिक्षा, स्वास्थ्य र सामाजिक विकासमा पनि ध्यान दिएर काम गरेको बताउनुभयो । उहाँले शिक्षाको अवस्था सुधार्न योजनावद्ध रुपमा अभियान सञ्चालन गरिएको पनि जानकारी दिनुभयो ।
गाउँपालिका उपाध्यक्ष भूमिसरा धिताल, जिल्ला शिक्षा विकास समन्वय इकाईका प्रमुख रामसुरेश यादव, बाँके जिल्ला खेलकुद विकास समितिका अध्यक्ष आतंक बस्नेतलगायतले बोल्नु भएको थियो ।
तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा मंगलबार प्राविस्तरका खेलकुद भएका छन् । प्रतियोगितामा ५ मावि र २५ आधारभूत तहसम्मका विद्यालय गरी ३० विद्यालयका विद्यार्थीले भाग लिएको गाउँपालिकाका अधिकृत भलाराम पंगालीले जानकारी दिनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !