एयरपोर्ट सरेको खजुराले कसरी भुल्नु ?

खजुरा – खजुरा धकेलिएको शहर उन्मुख नगर हो भन्दा सायदै फरक पर्दैन । खजुराको शाख, सान र पहिचान बनेको खजुरा बिमानस्थलको स्थानान्तरणले खजुरालाई लगभग ३०–४० बर्ष पछाडी धकल्यो । जहाँसुकैबाट आउने हुन् यदि हवाईजहाज चढेर आउने हो भने खजुरा नओर्ली नहुने हुन्थ्यो, हवाईअड्डा खजुरामा रहिरहेको भए । तर बिमानस्थलको स्थानान्तरणसँगै यी सबै एकादेशको कथा भए । अहिले प्रदेशको राजधानी र बाँके–बर्दिया कर्णाली प्रदेशमा मिसाउनु पर्छ भनेर अगुवाई गर्नेहरू यसो नभए नेपालगञ्जको हालत कोइलाबास र राजापुरको जस्तो हुन्छ भन्दा नेपालगञ्जको धम्बोजी चोकबाट मात्र ६ किलोटिटरमा सिमा जोडिएको खजुरालाई बिर्सिन्छन् । एयरपोर्ट सर्दा खजुरा रित्तिएको कसरी भुल्नु ? तर अप्ठ्यारो र असहज परिस्थितिसँगै जुध्दै पुनः जाग्ने हिम्मत खजुराले हारेको कहाँ छ र ? त्यसैले त खजुरा बेला–बेला नयाँ–नयाँ बहस छेडेर आफुलाई स्थापित गर्ने दौडमा छ ।
खजुराको एक दशक भन्दा लामो संघर्षको कथा हो, क्यान्सर अस्पताल । जो अब पूर्ण रूपमा सेवा दिन लगभग तयारी अवस्थामा छ । खजुराको गुमेको शाख र पहिचान अनि खजुराबासीको भाग्य र भबिष्य बदल्न सक्ने मेगाप्रोजेक्टका रूपमा खजुराबासीको भरोसा क्यान्सर अस्पताल प्रति अझै छ । स्थानीय सरकारको निर्वाचन पश्चात् खजुराले उठ्ने प्रयास अवश्य गरेको छ । खजुराका प्रमुख सडकहरु कालोपत्र भैसकेको अवस्था छ भने सहायक सडकहरू पनि कतिपय कालोपत्र र धेरैको स्तरोन्नति भएको छ । सबै वडामा स्वास्थ्य सेवाको पहुँचमा खजुराबासी छन् । अब खजुरालाई कस्तो बनाउने भन्दै सरोकारवाला, स्थानीय नागरिक र बिज्ञहरुसँग अन्तरसम्बाद गरि केही महिना अघि स्थानीय सरकारले बिकास सम्मेलनको समेत आयोजना गरिसकेको छ । अब त्यसबाट आएका सुझावलाई कसरी सम्बोधन हुन्छ त्यसको लागी केही समय पर्खिन पर्ने हुन्छ । खजुराको अर्को सबैभन्दा ठूलो परियोजना अन्तर्गत स्थानीय सरकारले ग्रीन सिटीको परियोजनाका लागि प्रयासरत छ । यदि ग्रीन सिटीको परियोजनाले सार्थकता पाए खजुराको कायापलट हुन्छ । शीत भण्डार र औद्योगिक ग्रामको काम अगाडि बढिसकेको छ । खजुरामा यसै बर्षबाट कृषि क्याम्पस स्थापना भई सञ्चालनका लागि अगाडि बढिसकेको छ । खजुराबासीको रंगशालाको सपना डीगाउँस्थित खेल मैदानले साकार तुल्याउदै छ । प्रादेशिक बिश्व बिद्यालयका लागी पाँच सय बिघा जग्गा सहितको खजुरा गाउँपालिकाले प्रदेश सरकारलाई आव्हान गरेको छ । खजुरामा नै केन्द्रीय कार्यलय रहेको कपास बिकास समितिले पुनर्जीवन पाउने र खजुरामा नै रहेको जनक शिक्षा सामाग्री केन्द्रको छापाखानालाई प्रयोगमा ल्याउन सके खजुरा बाँके जिल्लाको मात्र होइन यो प्रदेश नं. ५ कै एउटा उदाउँदो शहरका रूपमा स्थापित हुनेछ ।
खजुरालाई अझै गुल्जार बनाउन र तीब्र रूपमा बिकासको रफ्तारमा अगाडि बढाउन खजुराबासीको सामुहिक प्रयास र संकल्पको खाँचो छ । खजुरा–गुलरिया सडकखण्ड फराकिलो बनाउन आवश्यक छ । चाडै महाकालीदेखि आउने सार्बजनिक यातायात सेवालाई टिकापुर, राजापुर, गुलरिया हुँदै खजुरा भएर निस्किने ब्यबस्था मिलाउन सके यसले खजुराको बिकासमा ठुलो टेवा पु¥याउने छ । उदाउँदो शहरका रूपमा अगाडि बढ्दै गरेको खजुराको ठूलो चुनौती र समस्या भनेको बसपार्क बनेको छ । एउटा शहरका लागि आवश्यक छ, बसपार्क । अब ढिलो नगरी स्थानीय सरकारको ध्यानाकर्षण बसपार्क निर्माणमा जान जरुरी देखिन्छ ।


error: यो सुविधा उपलब्ध छैन !