जन्ती घर निर्माण शुरु

नेपालगञ्ज – हाम्रो समाजमा विवाह, ब्रतबन्ध, मुण्डनजस्ता विभिन्न संस्कारहरु हुने गर्दछ । ती संस्कार सम्पन्न गर्दा घरपरिवार, आफन्त, छरछिमेक गाउँले, नातागोता तथा इष्टमित्रलगायतलाई बोलाउने गरिन्छ । ती कार्यक्रम सम्पन्न गर्दा महंगो टेन्ट, डिजे, बाजागाजाको प्रयोग गरिन्छ भने गाउँमा भएका विद्यालय, बगैचाको प्रयोग धेरैजसो गरिन्छ । यो सबै अनावश्यक र महंगो रकम तिनुपर्ने बाध्यता नै बनेको छ स्थानीयबासीलाई ।
बाँके डुडुवा गाउँपालिकाबासीलाई अब त्यो बाध्यता हटेको छ । गाउँपालिकाले ३ वटा जन्ती घर निर्माण शुरु गरेको छ । गाउँपालिकाको वार्ड नं. ३ बनकटवा, वार्ड नं २ कोलही र वार्ड नं. ६ बल्दीपुरवा गाउँमा जन्ती घर निर्माणको कार्य भइरहेको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । उहाँका अनुसार ठूलो हल, शौचालय, खानेपानी र कम्पाउण्डसहितको अत्याधुनिक घर निर्माण हुनेछ ।
उक्त जन्ती घरमा करिब पाँच सय जना अट्ने क्षमताको निर्माण हुनेछ । २३ लाखको लागतमा निर्माण हुने भवनको अपुग बजेट थप गरिने गाउँपालिकाले जनाएको छ । गतवर्षदेखि नै गाउँपालिकाले जन्ती घर निर्माणको कार्य शुरु गरेको हो । यस वर्ष बजेट रकम थप गरि निर्माण सम्पन्न गरिने अध्यक्ष चौधरीले बताउनुभयो ।
गाउँपालिका वार्ड नं. १, २ र ३ मा अधिकांश घरहरु कच्ची रहेकाले र ठूला ठूला भवन र कुनै पनि सामुदायिक भवन नभएकाले गाउँमा हुने विभिन्न सांस्कृतिक कार्यक्रमका लागि सहज हुने वडा नंं १ का वडाध्यक्ष पटेश्वरी कुर्मीले बताउनुभयो । गाउँपालिकामा अधिकांश बस्ती मधेसी समुदायको भएकाले विवाह लगायत विभिन्न कार्यक्रमहरु गर्दा राती जन्ती बसाउन, पार्टी गर्न, भोज भण्डारा, पुजापाठ, धार्मिक ज्ञान महायज्ञ, भजन किर्तन गर्न निकै समस्या रहेको गाउँपालिका २ नं. वडाध्यक्ष गजेन्द्र कैरातीले बताउनुभयो । उहाँका अनुसार वर्षाको समयमा त झन समस्या हुनेभएकाले त्यो समस्याले यसले निराकरण गर्नेछ ।
जन्ती घर निर्माण भएपछि जन्ती टिकाउन, सभा समारोह गर्न, विभिन्न सांस्कृतिक कार्यक्रम गर्नलाई सहज हुने विश्वास लिइएको छ । निर्माण हुने जन्ती घरलाई व्यवस्थित रुपमा सञ्चालन गर्न समुदायस्तरमा नै एउटा समिति गठन गरि समुदायलाई हस्तान्तरण गरिने छ । हस्तान्तरणपछि समुदायले आफै व्यवस्थापन गर्ने छ । गाउँपालिकाले समुदायस्तरमा नागरिक सहुलियतका लागि विभिन्न कार्यक्रम तथा योजना ल्याएको छ ।


error: यो सुविधा उपलब्ध छैन !