देश लुट्नेलाई छोड्दैनौ : गृहमन्त्री


नेपालगञ्ज – उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले देश लुट्नेलाई नछोड्ने बताउनु भएको छ ।
नेपालगञ्जमा पत्रकार तथा नागरिक समाजसँगको अन्तरक्रियामा बोल्दै गृहमन्त्री श्रेष्ठले भ्रष्टाचारको प्रभावकारी नियन्त्रण गर्न सरकार लागि परेको बताउनु भयो ।
गृहमन्त्री श्रेष्ठले दल, उद्योगी र कर्मचारीको गठबन्धनले देशलाई लुट्ने काम गरेको उल्लेख गर्दै वर्तमान सरकारले पार्टी, बर्ग, घराना, समुदायको मतलव नराखेर कारबाही गरिरहेको बताउनुभयो ।
बाँसबारी छालाजुत्ता, भुटानी शरणार्थी, ललिता निवास काण्डको उदाहरण दिदै श्रेष्ठले माओवादी, नेपाली कांग्रेस, एमाले या जुनसुकै पार्टी भएपनि अपराध गरेको पाइएमा नछोड्ने चेतावनी दिनुभयो ।
गृहमन्त्री श्रेष्ठले देशलाई समृद्धिको बाटोमा अघि लगेर जनतामा रहेको निराशालाई चिर्न सरकार लागि परेको बताउनुभयो । उहाँले धार्मिक सद्भाव बिथोल्नेलाई सरकारले नछोड्ने चेतावनी दिदै समाजमा द्वन्द्व गराउन खोज्ने जो कोहीलाई नछोड्ने बताउनुभयो ।
गृहमन्त्री श्रेष्ठले प्रदेश सुरक्षा गोष्ठीमा लुम्बिनीका १२ जिल्लाका सुरक्षा अधिकारीले आ–आफ्नो जिल्लाको बस्तुस्थिति र चुनौतीहरु प्रस्तुत गरेकाले त्यसलाई हेरेर रणनीति बनाउने जानकारी दिनुभयो । बैठकमा लागु औषधको मुद्दा विशेष रुपमा उठेको छ । गृहमन्त्री श्रेष्ठले लागु औषधको कारोबार नियन्त्रण, दोषीलाई कारबाही, सचेतनाका कार्यक्रम र रिहाव सेन्टर सञ्चालनलाई सँगसँगै लिएर जाने रणनीति बनाइएको बताउनुभयो ।
अन्तरक्रियामा राजनीतिक दल, धार्मिक अगुवा, नागरिक समाज, अधिकारकर्मीलगयातले विभिन्न प्रश्न गरेका थिए । गृहमन्त्री श्रेष्ठले संसदमा संघीय निजामति ऐन, नेपाल प्रहरी ऐन र संघीय शिक्षा ऐन प्रस्तुत भइरहेको जानकारी दिनुभयो ।
अन्तरक्रियामा लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष पाण्डे, शहरी विकास मन्त्री कृष्णा केसी र पूर्वमन्त्री मो. इस्तियाक राईको उपस्थिति थियो ।


error: यो सुविधा उपलब्ध छैन !