नगरलाई बालमैत्री स्थानीय शासन घोषणा गर्ने प्रतिबद्धता

नेपालगञ्ज – बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले २०८३ असार मसान्तभित्र नगरलाई बालमैत्री स्थानीय शासन घोषणा गर्ने प्रतिबद्धता जनाएको छ । बालमैत्री स्थानीय शासन अवलम्बन तथा घोषणाका लागि नेपालगञ्ज उपमहानगरपालिकाले प्रतिबद्धता जनाएको हो ।

नेपालगञ्ज उपमहानगरपालिकाका जनप्रतिनिधिहरु, राजनीतिक दल, वालबालिका प्रतिनिधिहरु, स्थानीय तहका विषयगत शाखा पदाधिकारीहरु, सेवाप्रदायक, सामाजिक संघ/संस्था, विद्यालय व्यवस्थापन समिति, स्वास्थ्य संस्था लगायत विभिन्न सरोकारवालाहरुले स्थानीय सरकार सञ्चालन ऐन २०७४, बालमैत्री स्थानीय कार्यान्वयन निर्देशिका २०७८, बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि २०७९ बमोजिम नेपालगन्ज उपमहानगरपालिकामा बालमैत्री स्थानीय शासन अवलम्बन तथा घोषणाको प्रकियामा आ-आफ्नो क्षेत्रबाट सक्रिय एवम् अर्थपूर्ण सहभागिताको प्रतिबद्धता जनाएका हुन् ।

नेपालगञ्जमा आयोजित दुई दिने ‘बालमैत्री स्थानीय शासन सम्बन्धि अभिमुखीकरण कार्यक्रम’ मा जनप्रतिनिधि र अन्य सरोकारवालाले यस्तो प्रतिबद्धता जनाएका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले तोकिएको समय सीमाभित्र लक्ष्य हासिल गर्न प्रतिबद्ध रहेको बताउनुभयो । उपप्रमुख कमरुद्दिन राईले बालमैत्री शासनका लागि थुप्रै चुनौती रहे पनि सबैको प्रयास र हातेमालोबाट सम्भव रहेको बताउनुभयो ।

नेपाल सरकारले सन् २०३० सम्म मुलुकलाई बालमैत्री स्थानीय शासन घोषणा गर्ने लक्ष्य लिएको नेपालगन्ज उपमहानगरपालिकाकी महिला विकास अधिकृत पबित्रा पुरीले बताउनुभयो । अभिमुखीकरण कार्यक्रममा बालबालिकाका क्षेत्रमा कार्यरत बाल अधिकारकर्मी भिमराज अवस्थीले प्रशिक्षण दिनुभएको थियो । जनप्रतिनिधि र सरोकारवालालाई बालमैत्री शासन कार्यान्वयनका लागि प्रतिबद्ध बनाउन अभिमुखीकरण गरिएको महिला तथा बालबालिका शाखा प्रमुख महिला विकास अधिकृत मन्जु पाण्डेले बताउनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !