यसवर्षको नेपालगन्ज कनक्लेभ नवौं धारा नेपालगन्ज म्याराथनको अघिल्लो दिन ८ मंसिर २०८० मा आयोजना हुनेछ । ९ मंसिरमा म्याराथनको नवौं संस्करण हुनेछ ।
नेपालगन्ज कनक्लेभलाई नेपालगन्ज साहित्य उत्सव–२०७३ को अर्को स्वरुपको शृंखलाका रुपमा अघि बढाउन लागिएको क्रियटिभ ह्याण्ड्सका अध्यक्ष टीएस ठकुरीले बताएका छन् । कनक्लेभमा खेलकुद् मात्र नभई समाज, अर्थ–राजनीति, साहित्य र सम्भावनाबारे विचार विमर्श गरिने उनले जनाए ।
नेपालगन्ज कनक्लेभमा उद्यमशीलता, खेलकुद्, महिला सशक्तीकरण, साहित्य, युवा रोजगारलगायत विविध विषयका ६ वटा सत्र राखिएका छन् । त्यसका लागि वक्ताहरुको चयनसमेत भइसकेको छ ।
पश्चिम नेपाल : उद्यमशीलता, पर्यटन र रोजगारी विषयमा व्यवसायी प्रदीप छाजेड, नेपाल उद्योग परिसंघका कार्यकारी निर्देशक दीपकराज जोशी, धनगढी उपमहानगरपालिकाका मेयर गोपी हमाल, भायानेटका सीईओ सेवा पाठक वक्ता छन् । सो सेसनको मोडरेटर डा ओम मिश्रले गर्नेछन् ।
त्यस्तै, खेलकुदसँग टुटेको कडी : शिक्षा, स्वास्थ्य र खेलकुद् छलफलमा कर्णाली प्रदेशका प्रमुख सचिव चुडामणी पौडेल, विद्यालय संचालक शशी स्वाँर, मुटुरोग विशेषज्ञ डा विकास नेपाल, धाविका सन्तोषी श्रेष्ठ वक्ता छन् । सो सेसनको सहजीकरण खेल पत्रकार प्रकाश तिमिल्सिनाले गर्नेछन् ।
यसैगरी, आकाश धर्ती बराबरी : महिला सशक्तीकरण विषयमा अन्तर्राष्ट्रिय उडान भर्ने पहिलो नेपाली पाइलट क्याप्टेन भावना पन्त, पर्वतारोही पूर्णिमा श्रेष्ठ, मिस नेपाल वर्ल्ड श्रृच्छा प्रधान, पहिलो नेपाली महिला ओलम्पियन पार्वती थापा वक्ता छन् भने राष्ट्रिय मानवअधिकार आयोगका पूर्व सदस्य मोहना अन्सारीले यो सेसनको सहजीकरण गर्ने आयोजकले जनाएका छन् ।
साहित्यसम्बन्धी अर्को सेसन छ, नेपाली आख्यान : के पढ्ने ? के लेख्ने ? आख्यानकार नयनराज पाण्डे, सुबिन भट्टराई, यस वर्षका मदन पुरस्कार विजेता उपन्यासकार विवेक ओझा, अभिनेत्री सुरक्षा पन्त वक्ता छन् भने पत्रकार जनक नेपालले यो सेसनको सहजीकरण गर्नेछन् ।
युवा उद्यमशिलतासम्बन्धी स्वदेशमै सम्भव छ : युवा उद्यम र रोजगार छलफलमा हिमालय रिइन्स्योरेन्सका सीईओ उपासना पौडेल, युवा उद्यमी संघका अध्यक्ष सहारा जोशी, डल्फिन ग्रुपका डाइरेक्टर तीर्थ थापा र आईएमई ग्रुपका सचिन ढकाल वक्ता छन् भने यो सेसनको मोडरेटर नेपालगन्ज मेडिकल कलेजका निर्देशक डा नितेश कनोडियाले गर्ने छन् ।
नेपालगन्ज कनक्लेभको अन्तिम सत्रमा अभिनेता राजेश हमालसँग त्रिवि सहप्राध्यापक केशव सिग्देलको समाज, सिनेमा र साहित्यबारे संवाद हुने आयोजकले जनाएको छ ।
कन्क्लेभमा नेपाली युवा उद्यमी मञ्च नेपालगन्ज च्याप्टर सहआयोजक छ । क्रियटिभ बुक्स महत्वपूर्ण साझेदारका रुपमा छ, शिलापत्र अनलाइन मिडिया पार्टनर छ ।
‘विचार विमर्शले नयाँ दृष्टिकोण जन्माउँछ । अनि, वर्तमानको बस्तुनिष्ट समीक्षा गर्न सघाउँ छ’, अध्यक्ष ठकुरीले भने, ‘त्यसैले पनि नेपालगन्ज कन्क्लेभले पश्चिम नेपालमा बहसको नयाँ अध्याय अघि बढाउनेछ भन्नेमा हामी आशावादी छौँ ।’