खजुरामा शैक्षिक महोत्सव
खजुरा – खजुरा गाउँपालिकाको शिक्षा समितिले मंगलबारदेखि दोस्रो अन्तर विद्यालय शैक्षिक महोत्सव तथा अतिरिक्त क्रियाकलाप प्रतियोगिता गर्न थालेको छ ।
खजुरा क्षेत्रका सामुदायिक, निजी र मदरसा गरी शैक्षिक महोत्सवमा ६ सय ७२ विद्यार्थी सहभागी हुँदैछन् । नेरा मावि मनकमनापुरको व्यवस्थापनमा हुने महोत्सवको तयारी पूरा भएको व्यवस्थापन विद्यालयका प्रधानाध्यापक केदार पाठकले जानकारी दिनुभयो । शैक्षिक महोत्सवलाई सफल बनाउन खजुरा गाउँपालिकाका प्रमुख किस्मतकुमार कक्षपतिको संयोजकत्वमा सञ्चालन व्यवस्थापन समिति निर्माण गरिएको छ । आधारभूत तह कक्षा १ देखि ५ सम्म १ सय ९३ जना, आधारभूत तह कक्षा ६ देखि ८ सम्म २ सय ७१ जना, माध्यमिक तह ९– १० कक्षाका १ सय ९३ जना र माध्यामिक तह (११–१२) कक्षाका १५ जना विद्यार्थीले सहभागिता जनाउने गरी ६० विद्यालय दर्ता भएको दोस्रो अन्तर विद्यालय शैक्षिक महोत्सव तथा अतिरिक्त क्रियाकलाप प्रतियोगिता २०७६ सचिवालय संयोजक मित्रलाल सापकोटाले जानकारी दिनुभयो ।
शैक्षिक महोत्सवमा पठनबोध, अनुलेखन, चित्रकला, एकल नृत्य, हाजिरीजवाफ, कविता लेखन, एकल गायन, सामुहिक नृत्य, वक्तृत्वकला, नियात्राः कक्षा ९ र १० का विद्यार्थीवीच, निवन्ध लेखन, वादविवाद गरी १७ इभेन्टमा प्रतिस्पर्धा गराइने शिक्षा समिति सदस्य ऋषिराम सापकोटाले बताउनुभयो । महोत्सवले विद्यार्थीभित्र लुकेका प्रतिभा प्रष्फुटन भई अतिरिक्त क्षेत्रमा उनीहरुको क्षमता अभिवृद्धि हुने विश्वास लिइएको खजुरा गाउँपालिका स्रोत शिक्षक टंक दाहालले बताउनुभयो । विहान १० बजेदेखि शुरु हुने शैक्षिक महोत्सवको उद्घाटन जिल्ला समन्वय समिति संयोजक अजय श्रीवास्तवले गर्ने बताइएको छ ।