अब १८ वर्ष पुगेपछि लाइसेन्स

काठमाडौं (रासस) – सरकारले सवारी चालकको अनुमतिपत्र (लाइसेन्स) लिने उमेर हद बढाउने भएको छ ।
यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र पाउनका लागि न्यूनतम १८ वर्ष उमेर पूरा गरेको हुनुपर्ने व्यवस्था गर्न लागेको हो ।
‘सवारी तथा यातायात व्यवस्था ऐन–२०७६’ को मस्यौदामा सवारी चालक अनुमतिपत्र लिने उमेर हद १८ वर्ष कायम गर्न लागिएको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताउनुभयो ।
अहिले सवारी चालक अनुमतिपत्र लिनका लागि १६ वर्ष उमेर पुग्नुपर्ने व्यवस्था छ ।
विभागले लाइसेन्सको समय सीमासमेत बढाएर १० वर्ष कायम गर्ने तयारी गरेको छ । हाल पाँच वर्षमा गर्नुपर्ने नवीकरणलाई सेवाग्राहीले झन्झटिलो मान्दै आएका छन् ।
कम उमेरका चालकले सवारीसाधन चलाउँदा बढी दुर्घटना भइरहेको विभिन्न अध्ययनका क्रममा पाइएको छ । त्यसैले पनि निजी र सार्वजनिक सबै प्रकारको सवारीसाधनका लागि उमेर बढाउन लागिएको हो । सो विधेयकमाथि अहिले मन्त्रालयले विभिन्न पक्षसँग छलफल गरिरहेको छ । उहाँले भन्नुभयो, ‘मन्त्रालयमा छलफल सकिएपछि मन्त्रिपरिषद् हुँदै संसद्सम्म पुग्नेछ ।’
चालकका लागि कक्षा १० पास गरेको हुनुपर्ने गरी व्यवस्था गरिएको विभागका महानिर्देशक हमालले बताउनुभयो । टुटल र पठाओलाई भने ऐनले समेट्ने वा नसमेट्ने भन्ने अहिले नै यकिन भइसकेको छैन । सकेसम्म टुटल पठाओलाई कानुनीरूपमा नै नियममा ल्याउने गरी मन्त्रालयमा पनि छलफल भइरहेको छ ।
संघीय सवारी तथा यातायात व्यवस्था ऐन अघि नबने पनि प्रदेशहरूले ऐन बनाइरहेका छन् ।
देश १, प्रदेश २ र वाग्मती प्रदेशले संघीय ऐनभन्दा पहिले नै नयाँ संविधानुसार ऐन बनाइसकेका छन् । वाग्मती प्रदेशले यातायात व्यवस्थासम्बन्धी नियमावली बनाउने तयारी गरिरहेको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।


error: यो सुविधा उपलब्ध छैन !