नेपालगञ्जमा मेयर कप रनिङ शिल्ड शुरु

नेपालगञ्ज – राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौंट तथा माध्यामिक विद्यालय स्तरीय प्रथम मेयर कप खेलकुद प्रतियोगिता–२०७६ सोमबारदेखि शुरु भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाको आयोजनामा मंगलप्रसाद माविको खेल मैदानमा शुरु भएको प्रतियोगितामा नगरभित्रका सामुदायिक र संस्थागत गरि ३९ विद्यालयका एक हजार २ सय ९५ विद्यार्थीको सहभागिता रहेको छ ।
जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तव, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशमशेर राणा, उपप्रमुख उमा थापामगरले सोमबार प्रतियोगिताको उद्घाटन गर्नुभयो । प्रतियोगिताको उद्घाटन गर्दै संयोजक श्रीवास्तवले खेलकुदको विकासका लागि विद्यालयतहदेखि नै जोड दिनुपर्ने बताउनुभयो ।
नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख राणाले उपमहानगरपालिकाले खेलकुदको विकासका लागि प्राथमिकता दिएको बताउनुभयो ।
उपप्रमुख मगरले योग्य खेलाडी उत्पादनका लागि यसखालका प्रतियोगिता सहयोगी हुने बिश्वास ब्यक्त गर्नुभयो । ‘आगामी वर्षदेखि प्रतियोगितालाई भव्य बनाउन अहिलेदेखि नै योजना बनाएर लाग्ने छौं, उपप्रमुख मगरले भन्नुभयो,– खेलकुदको विकासका लागि यसखालका प्रतियोगिता नियमित हुन आवश्यक छ ।’
उद्घाटनमा सहभागी विद्यालयका विद्यार्थीले मार्चपास गरेका थिए । नेपालगञ्ज उपमहानगरपालिका शिक्षा शाखा प्रमुख गोर्खबहादुर थापाका अनुसार बुधबारसम्म सञ्चालन हुने प्रतियोगितामा एथ्लेटिक्स, भलिवल र कबड्डी खेलमा प्रतिष्पर्धा हुनेछ ।


error: यो सुविधा उपलब्ध छैन !