स्क्रब टाइफस र एन्फ्लुएन्जाका विरामी बढे

नेपालगञ्ज – नेपालगञ्जका अस्पतालमा स्क्रब टाइफस र एन्फ्लुएन्जाका विरामी बढेका छन् । डेंगीका विरामी पनि देखा परेको छ ।
अहिले रुघाखोकी, ज्वरो, टाउको दुख्ने समस्या भएका विरामीमा स्क्रब टाइफस र एन्फ्लुएन्जा पुष्टि भइरहेको छ ।
४–५ दिनदेखि ज्वरो आएकी ९ वर्षीया अनुशा वलीको रगत परीक्षण गर्दा स्क्रब टाइफस पुष्टि भएको छ । अनुशाजस्ता स्क्रब टाइफस भएका बालबालिका मेडिकल कलेजमा धेरै छन् ।
बाल रोग विशेषज्ञ डा. रोमा बोराले पछिल्ला दिनमा बालबालिकामा स्क्रब टाइफस र डेंगी देखिएको बताउनुभयो । चिकित्सकका अनुसार, यो मौसममा स्क्रब टाइफस र डेंगीका विरामी बढ्छन् ।
नेपालगञ्जको भेरी अस्पताल, मेडिकल कलेजमा स्क्रब टाइफस, एन्फ्लुएन्जा, डेंगीका विरामी आइरहेका छन् । स्क्रब टाइफस एक किसिमको सरुवा रोग हो । यो रोग मुसामा लाग्ने किर्नाजस्तो देखिने किराको टोकाईबाट मानिसमा सर्छ ।
भेरी अस्पताल, नेपालगञ्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेका अनुसार, स्क्रब टाइफसको संक्रमण भएमा धेरै ज्वरो आउँछ । टाउको दुख्ने, पसिना धेरै आउने, छाला चिलाउने, आँखा रातो हुँदै जाने, निम्फोग्राफी सुन्निनेजस्ता लक्षण देखा पर्न थाल्छन् । विस्तारै खोकी लाग्ने, पेट दुख्ने, पखाला लाग्ने, श्वास प्रश्वासमा अवरोध आउनेजस्ता समस्या बढ्न थाल्छ र टोकेको ठाउँमा कालो सानो दाग बस्दै जान्छ ।
भेरी अस्पताल, नेपालगञ्जका एन्फ्लुएन्जा फोकलपर्सन डा. खगेन्द्रजंग शाहले विगत दुई सातादेखि अस्पतालमा एन्फ्लुएन्जाका विरामी बढेको बताउनुभयो । भेरीले विरामीको नमूना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउने गर्दछ । परीक्षण गरेका करिव ४० प्रतिशतमा एन्फ्लुएन्जा देखिएको छ । मौसमी एन्फ्लुएन्जा एक किसिमको भाइरस संक्रमण हो । बोलीचालीमा यसलाई फ्लु पनि भनिन्छ ।


error: यो सुविधा उपलब्ध छैन !