महासचिवलाई छोडेर अरुको शपथ ग्रहण

नेपालगञ्ज – नेपालगञ्ज उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुले शपथ ग्रहण गरेका छन् ।
भदौ २ गते सम्पन्न भएको निर्वाचनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुले शुक्रबार शपथ ग्रहण तथा पदस्थापना गरेका हुन् । महासचिवको भने शपथ भएको छैन । अदालतमा मुद्दा परेकाले महासचिवबाहेक अन्यले शपथ गरेका छन् ।
संघका अध्यक्ष टंक धामी, उपाध्यक्ष चिरञ्जीवी ओली, उपाध्यक्ष हरिलाल न्यौपाने, महिला उपाध्यक्ष मन्दिरा पाण्डे, उपमहासचिव टेकबहादुर खड्का, कोषाध्यक्ष मख्खन धामीलगायत सदस्य, एशोसियट र बस्तुगत सदस्यले शपथ ग्रहण गरेका छन् ।
महासचिवमा निर्वाचित घोषणा गरिएका भीमबहादुर रानाभाटको शपथ रोकिएको छ । महासचिवका प्रतिस्पर्धी टंकप्रसाद शर्माले छिटपुट मत नगन्दै विजयी घोषणा गरिएको भन्दै अदालतमा मुद्दा दायर गरेका छन् । मुद्दाको टुंगो लागिसकेको छैन ।
प्रमुख निर्वाचन आयुक्त टीकाजंग सिंहले शपथ ग्रहण गराएको कार्यक्रममा संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी, पूर्वअध्यक्षहरु कृष्ण श्रेष्ठ, सुनिल शर्मालगायतको उपस्थिति थियो ।


error: यो सुविधा उपलब्ध छैन !