क्यान्सर अस्पतालमा विपन्नलाई निशुल्क उपचारसँगै दश प्रतिशत बेड

नेपालगञ्ज – खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा गरीव, असहाय र विपन्न विरामीलाई निशुल्क उपचारका साथै दश प्रतिशत बेड छुट्याइएको छ ।
मुठ्ठी दानबाट शुरु भएको यो अस्पतालमा ७० वर्ष उमेर नाघेका जेष्ठ नागरिक विरामीलाई अस्पतालबाट प्रदान हुने सेवा शुल्कको ५० प्रतिशत अस्पताल विकास समितिले व्यहोर्ने गरी छुट दिइएको छ ।
यहाँ हरेक वर्ष विरामीको चाप बढिरहेको छ । आर्थिक वर्ष २०७९÷८० मा २९ हजार २ सय ५५ जना क्यान्सरको विरामीको उपचार गरिएको छ । त्यसअघि २५ हजार १ सय ८१ जनाको उपचार गरिएको थियो ।
अस्पताल विकास समितिको अध्यक्ष भएको एक वर्षमा भएका २८ बुँदे प्रगति विवरण सार्वजनिक गर्दै टेकेन्द्र मल्लले सुविधासँगै बजेट पनि बढेको जानकारी दिनुभयो । सरकारबाट आर्थिक वर्ष २०८०÷८१ का लागि २५ करोड छुट्याइएको छ । त्यसअघिको बजेट १० करोड थियो ।
अस्पतालको मुख्य समस्यामा दरबन्दीका डाक्टर, कर्मचारी रहेको छ । यहाँ दरबन्दीका डाक्टर छैनन् । काज र करारमा रहेका डाक्टर, प्रशासक र कर्मचारीबाट सेवा दिइएको छ । कम्तीमा दुई सय दरबन्दी स्वीकृत गरिदिन अस्पताल विकास समिति लागि परेको छ ।


error: यो सुविधा उपलब्ध छैन !