महासचिवको पुनः मत गणना नभए चरणबद्ध आन्दोलन

नेपालगञ्ज – साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहले चरणबद्ध आन्दोलनको चेतावनी दिएको छ । उसले नेपालगञ्ज उद्योग बाणिज्य संघको हालैको निर्वाचनको महासचिवको मतको पुनः गणना गर्न माग गरेको छ ।
समूहले शनिबार नेपालगञ्जमा पत्रकार सम्मेलन गर्दै महासचिवको मत पुनः गणना नभए चरणबद्ध आन्दोलनको चेतावनी दिएको हो । समूहले नेपालगञ्ज उद्योग बाणिज्य संघको कार्यालयमा तालाबन्दी गरिसकेको छ ।
निर्वाचनमा अन्यत्र बाकसमा खसेका २० देखि २५ मत गणना नगरेर प्रमुख निर्वाचन आयुक्त टीकाजंग सिंहले महासचिवमा भीमबहादुर रानाभाटलाई विजयी घोषणा गरेको भन्दै त्यसको विरोध गरिएको छ । रानाभाटले एक हजार नौ सय २६ मत ल्याएको घोषणा गर्दा टंकप्रसाद शर्माले एक हजार नौ सय २० मत ल्याएको भनिएको छ ।
समूहका संयोजक सञ्जय थापाले पुनः मत गणना गर्ने भनि दुई पटक सूचना टाँस गरिसकेको अवस्थामा अहिले आएर पुनः मतगणना गर्दैनौ भन्न नपाइने जिकिर गर्नुभयो । उहाँले पुनः मतगणना नगरिए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !