भारतीय दूध रोक्न माग

नेपालगञ्ज – बाँकेका किसानले भारतीय दूध रोक्न माग गरेका छन् । जिल्ला दुग्ध व्यवसायी संघ, बाँकेले अवैध बाटोबाट भित्रिने गुणस्तरहीन भारतीय दूधका कारण नेपाली किसान मारमा परेको बताएको छ ।
संघका अध्यक्ष दीपकराज भण्डारीले भारतबाट दैनिक भित्रिने आठ हजार लिटर दूधका कारण नेपाली किसान मारमा परेको बताउनुभयो । जिल्ला प्रशासन र नेपालगञ्ज उपमहानगरपालिकामा ज्ञापनपत्र बुझाएको जानकारी दिदै अध्यक्ष भण्डारीले केही दिनभित्रै भारतीय दूध आयातमा रोक नलगाए आन्दोलन गर्ने चेतावनी दिनुभयो ।
संघका पूर्वअध्यक्ष बदरुद्दिन अन्सारीका अनुसार, बाँकेमा २४ हजार लिटर दूध उत्पादन हुन्छ । बर्दिया जिल्लाबाट ७ हजार लिटर दूध आउँछ । जिल्लाबाट सात हजार लिटर अन्यत्र जिल्लामा जान्छ । बाँकेमा दैनिक २२ हजार लिटर दूध खपत हुन्छ । भारतबाट भित्रिने दूध बढी भइरहेको छ । भारतबाट ८ हजार लिटर दूध भित्रिदा त्यही बराबरको नेपाली किसानको दूध बिक्री हुन सकेको छैन ।
बाँकेमा पालिका अनुसार हेर्दा बैजनाथ गाउँपालिकामा तीन हजार लिटर, नरैनापुर गाउँपालिकामा तीन हजार लिटर, राप्तीसोनारी गाउँपालिकामा दुई हजार पाँच सय लिटर, खजुरामा तीन हजार पाँच सय लिटर, कोहलपुरमा दुई हजार पाँच सय लिटर, नेपालगञ्ज उपमहानगरपालिकामा एक हजार पाँच सय लिटर, जानकी गाउँपालिकामा तीन हजार लिटर, डुडुवा गाउँपालिकामा पाँच हजार लिटर दूध उत्पादन हुने गर्दछ ।
पछिल्लो दिनमा भारतबाट भित्रिने दूधको रेकर्ड नै छैन । क्वारेन्टाइन र भन्सार कार्यालयले रेकर्ड नराखेको किसानको गुनासो छ । नेपाली किसानले भारतबाट भित्रिने दूधको रेकर्ड राख्न, भन्सार लिएर छोड्न आग्रह गरेका छन् । भारतीय दूधलाई भन्सार लगाउन सकेमा नेपाली किसानले प्रतिस्पर्धा गर्न सक्ने अध्यक्ष भण्डारीको भनाई छ ।


error: यो सुविधा उपलब्ध छैन !