महासचिवको मत पुनः गणना हुने
नेपालगञ्ज – नेपालगञ्ज उद्योग बाणिज्य संघको महासचिव पदको निर्वाचनको पुनः मतगणना हुने निर्वाचन आयुक्तको कार्यालयले जनाएको छ ।
प्रमुख निर्वाचन आयुक्त टीकाजंग शाहले सूचना निकालेर महासचिव पदको मतगणना पुनः हुने बताएका हुन् ।
महासचिवमा समावेशी प्यानलका भीमबहादुर रानाभाटलाई निर्वाचन आयुक्तको कार्यालयले विजयी घोषणा गरेको थियो । रानाभाटले एक हजार नौ सय २६ मत ल्याएर विजयी भएको घोषणा भएको थियो । महासचिवका अर्का प्रत्यासी साझा लोकतान्त्रिक समूहका टंकप्रसाद शर्माले एक हजार नौ सय २० मत ल्याएका छन् ।
पूरा मत गणना नहुँदै रानाभाट विजयी भएको भन्दै होहल्ला भएको भन्दै साझा लोकतान्त्रिक समूहले आरोप लगाएर पुनः मतगणनाको माग गरेको छ । यता मत राम्ररी गनेर सकिएपछि विजयी घोषणा भएको समावेशी प्यानलको भनाई छ ।