बाणिज्य संघ चुनाव : टंक धामी विजयी
नेपालगञ्ज – नेपालगञ्ज उद्योग बाणिज्य संघको अध्यक्षमा टंक धामी विजयी भएका छन् ।
समावेशी प्यानलबाट चुनावी मैदानमा उत्रिएका धामीले साझा लोकतान्त्रिक समूहका ललित रौनियारलाई पराजित गरेका हुन् ।
माओवादी समर्थित धामीलाई एमाले, राप्रपा, जसपाको साथ थियो । स्वतन्त्र, एकीकृत समाजवादी र राप्रपा नेपालको समर्थन रहेका कांग्रेसका रौनियारलाई धामीले ८ सय ९० मत अन्तरले पराजित गरेका हुन् । धामीले दुई हजार चार सय ५६ मत ल्याउदा रौनियारले एक हजार पाँच सय ६६ मत ल्याएका छन् ।
उद्योग र बाणिज्य तथा महिला उपाध्यक्ष, महासचिव, उपमहासचिव, कोषाध्यक्षको मतगणना भइरहेको छ । प्रारम्भिक नतिजामा उद्योग र बाणिज्य तथा महिला उपाध्यक्षमा समावेशी प्यानल र महासचिव, उपमहासचिव र कोषाध्यक्षमा साझा लोकतान्त्रिक समूहको अग्रता रहेको छ ।
दश जना सदस्यमा समावेशी प्यानलबाट ७ र साझा लोकतान्त्रिकबाट ३ जना विजयी भएका छन् । सदस्यमा विष्णु श्रेष्ठ, डम्बरबहादुर चन्द, इन्दिराकुमारी शाही, शिवप्रसाद दाहाल, तोपबहादुर थापा, सुदन केसी, टिकामणि उपाध्याय, बुद्धिबहादुर विके, युवराज ढकाल र सन्तोषकुमार पौडेल विजयी भएका छन् ।
एशोसियट सदस्यमा समावेशी प्यानलका कमल कार्की र साझा लोकतान्त्रिकका प्रदीप गुप्ता विजयी भएका छन् । बस्तुगत सदस्यमा स्वतन्त्र उम्मेदवार किसन गुरुङ, हिमनाथ पौडेल र विनय श्रेष्ठ विजयी भएका छन् । पौडेल र श्रेष्ठको बराबरी मत आएको छ । आधा आधा कार्यकाल बाँड्ने कि गोला प्रथा गर्ने टुंगो लागेको छैन ।
चार हजार नौ सय ३३ मतदाता रहेको संघमा ४ हजार १ सय ३२ मत खसेको थियो ।