वीरेन्द्रचोकमा पूर्वराजाको शालिक राखिदै
नेपालगञ्ज – नेपालगञ्जको मुख्य चोकको रुपमा रहेको वीरेन्द्रचोकमा पूर्वराजा स्व. वीरेन्द्र शाहको शालिक राख्ने तयारी गरिएको छ ।
बाँकेवासीको जनताको नाममा राजावादीहरुले पूर्वराजा वीरेन्द्रको शालिक राख्न खोजेका हुन् । शालिक राख्ने अभियान्तामध्येका एक भीम शाहीले पूर्वराजाको शालिक बनेर आइसकेको र राजनीतिक दल, प्रशासनसँग सल्लाह र छलफलपछि राख्ने बताउनुभयो ।
दोस्रो जनआन्दोलन अघिसम्म चोकमा वीरेन्द्रको शालिक थियो । २०६२÷६३ को आन्दोलनको बेला शालिक तोडफोड गरिएको थियो । राजावादीहरुले बीचमा शालिक राखेका थिए । जसलाई प्रहरीले राती हटाएको थियो ।
देशका विभिन्न जिल्लामा पूर्वराजाका शालिक पुनस्र्थापना भइरहेको बेलामा नेपालगञ्जमा पनि बाँकेवासी जनताको नाममा राजावादीहरु शालिक राख्न जुर्मुराएका छन् । अभियान्ता शाहीले एक चरण राजनीतिक पार्टी, नेपालगञ्जका मेयरसँग भेटघाट गरिसकेको र अब फेरि छलफल गरेपछि प्रशासनको अनुमति लिएर शालिक राखिने बताउनुभयो ।
नेपालगञ्जको त्रिभुवनचोकमा दोस्रो जनआन्दोलनकै बेलामा हटाइएको पूर्वराजा त्रिभुवनको शालिक पुनस्र्थापना गरिसकिएको छ ।