मुख्यमन्त्री चाैधरीकाे ध्यानाकर्षण

नेपालगञ्ज – लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेशको विकास र समृद्धिका लागि कुनै स्वार्थ नराखी काम गरिरहेको बताएका छन् ।

नेपाली कांग्रेस बाँकेले आज पार्टी कार्यालय नेपालगञ्जमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री चौधरीले कुनै दल, समूह वा गुटलाई प्रश्रय गर्ने गरी नभई जनआकांक्षालाई केन्द्रमा राखेर काम गरिरहेको उल्लेख गरे । उनले बाँकेमा राप्ती नदीको कटान रोक्न तटबन्ध गर्ने विषयलाई प्राथमिकतामा राखेको बताए । मुख्यमन्त्री चौधरीले नेपालगञ्ज प्राचीन सहर भएकाले यहाँको विकास र समृद्धिका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । चौधरीले बागेश्वरी मन्दिरको विकासका लागि बजेट छुट्याएको जानकारी दिँदै गुरुयोजना बनाएर अघि बढ्ने बताए । उनले अल्पसंख्यक/ पिछडिएका जातजाति, परम्परागत सीप, कला, संस्कृतिको संरक्षण र संबर्द्धनका लागि लुम्बिनी प्रदेश सरकारले विशेष कार्यक्रम ल्याएको जानकारी दिए ।

कार्यक्रममा नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले जिल्लामा तटबन्ध, यातायात व्यवस्था कार्यालयको शाखा कोहलपुरमा स्थापना, पार्टीको निर्माणाधीन सुशील कोइराला स्मृति भवनका लागि सहयोग लगायतका विषयमा मुख्यमन्त्री चौधरीको ध्यानाकर्षण गराएका थिए । सचिव सुधांशु कोइरालाले संचालन गरेको कार्यक्रममा पूर्व मन्त्री गजेन्द्र हमाल, क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति पोषण केसी, लुम्बिनी प्रदेशका सांसद माया पुन, संजुकुमारी चौधरी लगायत नेता कार्यकर्ता उपस्थित थिए ।


error: यो सुविधा उपलब्ध छैन !