अस्पतालजन्य फोहोर सडकमा

नेपालगञ्ज – नेपालगञ्जको सुर्खेतरोडमा अस्पतालजन्य संक्रमित फोहोर फालिएको छ । निर्मूलीकरण गरेर फाल्नु पर्ने फोहोर सडकमा फालिएपछि नेपालगञ्ज उपमहानगरपालिकाले चासो देखाएको छ ।
उपमहानगरपालिकाले फोहोरलाई उठाएर कार्यालयमा ल्याएको छ भने फोहोर फाल्नेको सोधीखोजी थालेको छ ।
फोहोर कुनै ल्याबको हो भन्नेमा दुईमत छैन । रगत संकलन गरिएको ट्युबमा विरामीको नाम र उमेर लेखिएको छ । कुनै ट्युब खुल्ला छ भने कुनै बन्द रहेको छ ।
अस्पतालजन्य यस्ता संक्रमित फोहोरलाई उपमहानगरपालिकाको समन्वयमा केही महिनादेखि हिरमिनियामा रहेको ल्याण्डफिल साइटको एकीकृत फोहोर मैला व्यवस्थापन केन्द्रमा निर्मूलीकरण गरेर विसर्जन गर्ने गरिएको छ । अझै केही ल्याब, मेडिकल, अस्पताल उपमहानगरपालिकाको यो अभियानमा समेटिएका छैनन् ।
नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले सडकमा ल्याएर हानिकारक फोहोर फाल्नेलाई कारबाही गर्न लागि परेको बताउनुभयो ।
नेपालगञ्जमा साना ठूला अस्पताल र क्लिनिकहरु सय बढी छन् । त्यसमध्येमा ५६ वटाले सम्झौता गरेर अस्पतालजन्य फोहोर व्यवस्थित रुपमा विसर्जन गर्दछन् । अहिले नेपालगञ्जका अस्पताल तथा क्लिनिकबाट निस्किने तीन क्वीन्टल फोहोर दैनिक ल्याण्डफिल साइटमा विसर्जन भइरहेको छ । ल्याण्डफिल साइटमा लगिने अस्पतालजन्य फोहोरलाई निर्मूलीकरण गरेर विसर्जन गर्ने गरिन्छ ।


error: यो सुविधा उपलब्ध छैन !