काेहलपुरमा वृक्षराेपन अभियान

काेहलपुर – कोहलपुर नगरपालिकाले हरित सहरका लागि आजदेखि वृक्षरोपण अभियान सुरु गरेको छ ।
कोहलपुर नगरपालिका हाताभित्रबाट वृक्षरोपण अभियान सुरु भएको नगर प्रहरी प्रमुख वीरबहादुर थापाले जानकारी दिनुभयो । नगर प्रमुख पूर्णप्रसाद आचार्य, नगर उपप्रमुख संगिता सुवेदी र प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले एकैसाथ वृक्षरोपण गरेर अभियानको सुरुवात गर्नु भएको छ । कोहलपुर नगरपालिकालाई हरित नगर बनाउने योजना अनुसार अभियान सुरु भएको नगर प्रमुख आचार्यले बताउनुभयो । उहाँले  कोहलपुर सहरलाई हरित सहर बनाउने नगरपालिकाको अभियानमा सबै नगरबासी जोडिनपनि आह्वान गर्नुभयो ।
नगर उपप्रमुख सुवेदीले कोहलपुरलाई वातावरणमैत्री नगर बनाउन पनि वृक्षरोपण अत्यन्तै जरुरी रहेको बतानुभयो । उहाँले जलवायु परिवर्तनबाट उत्पन्न समस्या न्यूनीकरणका लागि बोटबिरुवाको संरक्षण आवश्यक रहेकाले हरेक नगरबासीले रोपिएका बिरुवाको संरक्षण गर्नुपर्ने बताउनुभयो । कोहलपुर नगरपालिकाले यो सिजनमा एक हजार ६० कोनोकार्पस प्रजातिको बिरुवा रोप्ने तयारी गरेको छ । राजमार्गको बीच खण्डमा, नगर भवन परिसर, निर्माणाधीन नगर कार्यपालिकाको परिसर र बजार क्षेत्रमा कोनोकार्पस बिरुवा रोपिने नगर प्रहरी प्रमुख थापाले जानकारी दिनुभयो ।
यस्तै नगरपालिकाले नगरबासीलाई आफ्नो घर अगाडि छ्त्तीवन, करभिर, बेगनबेली, समि, कपुर, मिनि चमेली, गुलाचिन, बोटल ब्रस, टिकुमा लगायतका बिरुवा रोप्न आग्रह गरेको छ ।

error: यो सुविधा उपलब्ध छैन !