गतवर्षकै डेढ करोड तिर्दा कार्यक्रम कम

नेपालगञ्ज – कृषि ज्ञान केन्द्र, बाँकेले आर्थिक वर्ष २०७९÷८० मा ६४.५६ प्रतिशत रकम खर्च गरेको छ ।
कार्यालयको यो वर्ष ९ करोड २१ लाख १५ हजार ८ सय ५ रुपैयाको कार्यक्रम रहेकोमा ५ करोड ९४ लाख ७१ हजार ६ सय ७१ रुपैया खर्च गरेको हो । बजेट नै घटेर आएको कृषि ज्ञान केन्द्रले गतवर्षकै एक करोड ५३ लाख रुपैया भुक्तानी गरेको थियो ।
कार्यालयका निमित्त प्रमुख सकील अहमदले नरैनापुरको हाट बजार, बेतहनीको गोदाम घरलगायत केही काम गर्न नसकिएको जानकारी दिनुभयो ।
कार्यालयले यो वर्ष डुडुवा र जानकी गाउँपालिकामा बीउ आत्मनिर्र्भर कार्यक्रममार्फत तीन वटा बीउ उत्पादकसँग सम्झौता गरी कार्यक्रम गरेको, मौरी प्रवद्र्धन कार्यक्रममार्फत एक वटा मौरी पालकसँग सम्झौता गरी कोहलपुर नगरपालिकामा कार्यक्रममा सञ्चालन गरेको, आलु मिसन कार्यक्रममार्फत तीन र आलु प्रवद्र्धन कार्यक्रममार्फत दुई वटा आलु उत्पादकसँग सम्झौता गरी डुडुवा गाउँपालिकामा कार्यक्रम सञ्चालन गरेको थियो ।
बगैचा सुदृढिकरण कार्यक्रममार्फत दुई वटा फलफूल बगैचा सञ्चालकसँग सम्झौता गरी कार्यक्रम गरेको, ब्लक विकास कार्यक्रममार्फत एक वटा धान ब्लक समितिसँग डुडुवा गाउँपालिकामा सम्झौता गरी कार्यक्रम गरिएको, कृषिजन्य उत्पादन सामाग्री (मल, बीउ, विषादी) नियन्त्रण तथा अनुगमन अन्तर्गत खजुरा, नेपालगञ्ज र कोहलपुर बजार क्षेत्र गरी १३ वटा एग्रोभेटको अनुगमन निरीक्षण गरिएको निमित्त प्रमुख अहमदले बताउनुभयो ।
कृषि ज्ञान केन्द्रले पत्रकारसँग अन्तरक्रिया राखेर आफ्ना कार्यक्रम र त्यसको प्रगतिबारेमा जानकारी दिएको हो ।


error: यो सुविधा उपलब्ध छैन !