शीर्षक्रमका ब्याटर नरेन भट्टको उत्कृष्ट शतकको सहयोगमा नेपालले यू-१६ इस्ट जोन कपको फाइनल खेलमा घरेलु टोलीलाई फराकिलो अन्तरले पराजित गरेर उपाधी जितेको हो।

मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा भएको खेलमा नेपालले २ सय २२ रनको सानदार जित दर्ता गरेको हो।

नेपालले दिएको २ सय ५३ रनको लक्ष्य पछ्याएको मलेसिया १४ दशमलव ५ ओभरमा ३१ रन बनाउँदै अलआउट भयो।

मलेसियाका लागि मुहम्मद अक्रमले १२ बलमा १ छक्काको सहयोगमा १० रन बनाउँनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा समेत रन बनाउन सकेनन्।

नेपालका लागि कप्तान अभिषेक तिवारीले ६ ओभरमा ७ रन खर्चिएर ५ विकेट लिए। सन्तोष यादवले ३ तथा अशोक धामी र सन्तोष गैरेले समान १/१ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाएर २ सय ५२ रन बनाएको थियो।

नेपालका लागि नरेन भट्टले ८९ बलमा १० चौका र २ छक्काको सहयोगमा अविजित १ सय १२ रनको शतकीय ईनिङ खेले।

पहिलो विकेटका लागि ओपनरद्वय निरज यादव र सुर्यांशु कोइरालाले ४४ बलमा ४१ रनको साझेदारीका साथ राम्रो सुरुआत दिलाएका थिए। यादवले ४९ बलमा ६ चौकाको सहयोगमा ४७ रन बनाए। कोइरालाले २३ बलमा १८ रन बनाए।

दोस्रो विकेटका लागि नरेन भट्ट र निरजले ५५ बलमा ५५ रनको महत्वपर्ण साझेदारी गरे। तेस्रो र चौँथो विकेटका लागि उल्लेखनिय साझेदारी हुन सकेन। पाँचौँ विकेटका लागि सन्तोष यादव र नरेन भट्टले ७६ बलमा १ सय ३ रनको शतकीय साझेदारी गर्दै टोलीलाई बलियो योगफल सम्म पुर्याए।

सन्तोष यादवले २९ बलमा २ चौकाको सहयोगमा २६ रनको योगदान गरे। अशोक धामीले ७ बलमा १ छक्का सहित १२ रन बनाए।

मलेसियाका लागि मुहम्मद अक्रमले ३ तथा अरेन अकील र मुहम्मद फदुलले समान १/१ विकेट लिए। नेपाल अपराजित रुपमा उपाधी विजेता भएको छ।