रुने आवाजको शहर : नेपालगञ्ज !

कुनै बेला थियो गधा खच्चड, रुन्थे र गाई पालिन्थ्यो नगरमा अनि मानिसहरु कुकुरको सुरक्षामा हाँस्ने माहोल थियो नेपालगञ्जभित्र ।
अहिले समृद्धि र विकास सँगसँगै, समावेशी र अधिकारका नाममा शहरमा मानिस रुन्छन् र थोरै बचेका गधाहरु हाँस्छन् नेपालगञ्जलाई सम्झिएर इट्टा भट्टाहरुमा । कामै नलाग्ने गधा जस्तो भन्ने मानिसहरु रोइरहँदा पैसा कमाइदिइरहेका काम लागेका गधाहरु कोसौं पर उपत्यकाका इट्टाको भारी विसाएर रातभरी नेपालगञ्जलाई सम्झेर हाँस्दै नेपालगञ्जमा बस्ने मानिसहरुको रोएको आवाज सुनिरहेका छन् ।
नेपालगञ्जका ती गधाहरुले आफ्ना पिठ्युँमा बोकेको भारीले तिनका मालिकलाई कति खुशी दिएका छन्, ती खुशी लिनेहरुले जानुन् या त खुशी पाउनेहरुले जानुन् तर शहरमा गधाहरुको संख्या कम हुँदै गएपनि शहरको आवाज रोइरहेको सुनिन्छ ।
कहिले बागेश्वरी मन्दिरका नामले आवाज रुन्छन् त कहिले हजमा जानेहरुले पालो नपाउँदा रोएका आवाज सुनिन्छन् । होलीमा रंगको मट्का फोड्दा निस्कने खुशीका आवाजहरु आजकाल रेष्टुरेण्टका बोतल फुट्दा रोइरहेका सुनिन्छन्, नेपालगञ्जमा ।
बडो गजवको विकास र समृद्धितर्फ मानिसहरु कुदिरहेका छन् जहाँ घोडाका टापहरुले सस्तो भाउमा सिमापारीबाट खुशीका समान किनेर ल्याउने मानिसहरु अहिले विमानस्थलबाट महंगो दरमा सपिङ गर्दै संघीयता किनेर रोइरहेका भेटिन्छन् । रोइरहेका आवाज कहिल्यै राजधानीको नाममा त कहिल्यै प्रदेशको नाममा ।
जमिन उही हो आकाश उही हो तर दूर्गधन्को वासनाले नगरमा मानिसहरु कृत्रिम हाँसो रोइरहेका भेटिन्छन् नेपालगञ्जमा । समयलाई मात्रै कति दोष लगाउने अवसरलाई राजनीतिको मौका मानेर वेच्दै रोइरहेका छन् राजनीतिका ठेकेदारहरु । स साना झुपडी र खर, फुसको छाना मुनि परिश्रम गरेर सपरिवार आनन्दको जीवन विताइरहेका नेपालगन्जियाहरु अहिले आलिसान महलमा एक्लोपनले रोइरहेका छन् । नाटक, नौटंकी, रामलिला र मेलामा रमाउने नगरवासीहरु गजवको विकास र समृद्धि हाँसिल गर्दै क्यु एफएक्समा वातानुकुलित भएर तनवाको जिन्दगीमा रोइरहेका भेटिन्छन् ।
वा ! वा !!
गाउँ पञ्चायत, नगर र उपमहानागर हुँदै महानगरको सपनामा रोइरहेका छन् मनुवाहरु । संस्कृति र परम्परालाई गिज्याएर वेष्टर्न प्याटर्नमा खुब मज्जाले अट्टाहस हाँसो भित्र नेपालगञ्ज रोइरहेको देख्छु म ।
नाँच, भजन, कृतन,महात्म्य, कथा,चौपायी र महेफील मुसायरा सुनेर आनन्दित हुने बजारीयाहरु शहर बनेपछि मज्जाले म्युजिकल कन्सर्टमा रेबनको चस्मा लगाएर आँशु लुकाउँदै रोइरहेका भेटिन्छन् ।
आखिर पैसा कमाई भएकै छ, पहिले भन्दा मिठो मसिनो खाएकै छन् मानिसहरु, सुविधा र सेवा बढेकै छन्, विलासिताको सिमा फराकिलो भइसक्यो तर पनि कर तिर्न रोइरहन्छन् शहरीयाहरु ।
कुज्जामा दही किनेर साइकल कुदाएर परिवारसँगै रोटी चपाउँदै मस्त बाँचेकाहरु, रेष््टुरेन्टको वफी सिस्टममा न्यापकिन पेपरले लपेटेको चम्चाले दलका नेताहरुको चम्चाको भूमिकामा डिनर र लन्च गर्दै, कुरा चपाएर गजवले परिवारबाट एक्लोपनमा सीमित हुँदै, ह्विस्कि र कफिको डबल शर्टमा न्याचुरल स्नेहका लागि रोइरहेका छन् ।
केही दिन यता फेरी राजधानी र प्रदेशको बहानामा शहरीयाहरु रोइरहेका छन् । संघीयताको माग गर्दै रोएकाहरु अहिले त्यही संघीयतामा फेरी रुँदैछन्, नेपालगञ्जमा । केही अनुहार दैलेख सुर्खेत हुँदै उत्तरी पुख्र्यौली बाटो सम्झिएर रोइरहेका छन् अनि केही थान आवाजहरु दक्षिणको बाटोको सपाट तातो पन्छिने हो कि भनेर मुर्मुराउँदै रोइरहेका भेटिन्छन् नगरका गल्लीहरुमा ।
समाजको दर्पण अनि सूचनाका संवाहक मालि मिडियाका र पत्रकारहरु नेपालगञ्जमा कसैको वाहवाही र कसैलाई ओराली लागेको मृग झैं बनाउन विभक्त भएर रोइरहेका छन् ।
स साना साँघुरा गल्ली र बाटाहरु चौडा सडक अनि राजमार्गको रुप लिइसक्दा पनि पैदल यात्रु र साइकल चलाउनेहरु हिंड्ने र गुड्ने ठाउँ नपाउँदा रोइरहेका छन् । यो त्यो नेपालगञ्ज हो, जहाँ सिंगाडा, दही बारा, टिकिया, पकौडी, हलुवा, गठरी, मम्फली, लैहा र लच्छाबदामले मुस्कुराउने बालबालिकाहरु अहिले पिज्जा र आइसक्रिम खान पाउँदा पनि प्रायः ब्यस्त आमा बाबुको पर्याप्त समय नपाएर रोइरहेका हुन्छन् ।
वा ! वा !!
समृद्धि र विकास अनि त्यो लुप्त हुँदै गइरहेको सभ्यता र यो विकसित समाज !!
न त राजनीतिक दलका ठेकेदारहरुलाई उपहास गरौं भन्छु न त विकासलाई रोकौ र समृद्धिलाई छेकौं भन्छु । सक्छौं भने हामी आप्mनो धरातल नविर्सों र परम्परा र संस्कृतिलाई सुसज्जित गरौं न कि बर्बाद ।
संघीयतासँगै भएको व्यवस्थालाई आत्म साथ गर्नु र विद्यमान संविधान, ऐन, नियम कानुन सबैलाई अक्षरसः पालन गरौं । सभ्यताको मूल कडीलाई विर्सेर नेपालगञ्ज कसरी सभ्य बन्न सक्ला ?
अहिले प्रदेश गाभिने र राजधानीको विषयले नेपालगञ्ज फेरी कुरुप भइरहेको छ, दिनदिनै । सक्छौं भने संघीयताको अर्को पाटो हामी विशेष राज्यको माग गरौं, न कि गाभिने कुरा । हामी केन्द्र शासित युनियन टेरिटोरीयलको माग गरौं बाँकेको हकमा । सकिन्छ भने बर्दियालाई साथ लैजाउँ अझै सकिन्छ भने कैलाली र कञ्चनपुरलाई साथ लिएर अघि बढौं । तर नविर्सौं त्यो हाम्रो दायरामा पर्छ कि पर्दैन भनेर ।
संघीयताको विषयमा हामी छिमेकी देश भारतको उदाहरणलाई खुबै जोड्ने गछौं, त्यहाँ फुटेको अलग अलग राज्य जोडिएको थियों यहाँ जोडिएकालाई फोडिएको छ । भारतमा पनि केन्द्र शासित युनियन टेरिटोरियल छन् । देशको राजधानी नयाँ दिल्ली आफैमा एउटा फरक व्यवस्था सहितको समीकरणबाट स्थापिछ छ । अन्य थुप्रै ठाउँहरुलाई केन्द्र सरकारले युनियन टेरिटोरीयलका माध्यमबाट स्थापित गरेको उदाहरण छ । सिक्किमलाई नै हेरौं न । त्यहाँ के छैन ? हामी केवल लेण्डुप दोर्जे मात्रै सम्झन्छौं, त्यो एउटा इतिहास भइसक्यो । अहिले अमेरिकाबाट पनि रिसर्चका लागी सिक्किमलाई रोजेर अध्येयताहरु पुग्छन् त्यहाँ । त्यहाँको शान्ति सुव्यवस्था अनि शिक्षाको स्तरबाट हामीले नसिक्ने ? यदि साँच्चिकै संघीयताको अभ्यास गर्ने हो भने बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलाई एकसाथ राखौं जसरी देशको नक्सामा यी एकै साथ फिर्ता भएका थिए । होइन भने नेपालगञ्ज प्रदेश ५ मा रहँदैमा यसको अस्तित्व गुम्ने छैन र प्रदेश ६ मा गाभिदैमा यसको वर्चश्व बढ्ने छैन । दाङ, सल्यान, रुकुम, रोल्पासँग पुख्र्यौली सम्बन्ध भएकाहरु दाङ राजधानी बनाउने अभियानमा बाँकेलाई प्रयोग गर्न खोज्छन्, सुर्खेत, दैलेख, जजारकोटलगायतका उपल्ला भेगसँग सम्बन्ध राख्नेहरु प्रदेश ६ मा गाभिने कुरामा समर्थन जुटाउन खोज्दैछन् । अनि अर्का थरी जो कपिलवस्तु, पाल्पा बुटवल, स्याङ्जा, पोखरासँग पुरानो सम्बन्ध ब्युँझाउँछन् आ–आप्mनो उनीहरु काठमाडौं राजधानी हुँदा त चलेको थियो अब बुटवल झनै नजिक पर्छ भन्दै तर्क गर्छन् ।
यो त्रिकोणत्मक भुमरीमा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर सा’प प्रदेश गाभ्ने कुराको वकालत गर्दै हुनुहुन्छ । सक्नुहुन्छ भने बाँकेलाई विषेश क्षेत्रको दर्जा दिलाउन प्रयास गर्नुहोस् न त्यसमा तपाईँ अनि पुरै बाँकेवासीको जीत हुनसक्छ, नसक्ने भए उहाँले विर्सनु हुँदैन कि उहाँ कानुन व्यवस्था कायम गर्ने पदीय जिम्मेवारीमा हुनहुन्छ भन्ने कुरा । उहाँले आन्दोलन गराउने भूमिका होइन केही हदसम्मको आन्दोलनलाई सम्बोधन गर्न सक्ने स्थानमा हुनुहुन्छ । बाँके काँग्रेस जो प्रतिनिधि सभाका लागि त्यहाँ उम्मेद्वार दिंदैन, अनि नेकपाका चल्ता पुर्जा अनुहार भोट बैंकको अवसरको खोजीमा गाभिने एजेण्डामा समाहित छन् । बाँकी क्षेत्रीय दलहरु जो समीकरण र मौकापरस्त छन् ।
यसरी दिन दिनै राजनीतिक आन्दोलनको पीडामा नेपालगञ्ज रोइरहेको छ । उहिले रुने गधाहरु अहिले नेपालगञ्जलाई सम्झँदै पीठ्युँमा भरी बोक्दै गन्तब्यमा नेपालगञ्जको त्यो फुर्सदको मस्तिलाई सम्झंदै कतै रोइरहेका होलान् । तर शहरमा मानिसहरु समृद्धि र विकाससँगै पो रोइरहेका छन् । त्यसैले रुने आवाजहरुको शहर भयो नेपालगञ्ज ।


error: यो सुविधा उपलब्ध छैन !