मेयर, उपमेयरले खाए हात्तीपाइले औषधी

नेपालगञ्ज – नेपालगञ्जमा मेयर, उपमेयर, वडाध्यक्षहरुले औषधी खाएर हात्तीपाइले रोगविरुद्धको आम औषधी सेवन कार्यक्रमको शुरुवात गरेका छन् ।
नेपालगञ्ज उपमहानगरपालिकाको मुख्यद्वारमा छोटो कार्यक्रम गरेर मेयर डा. धवलशमशेर राणा, उपमेयर उमा थापामगर, वडाध्यक्षहरु सुनिलसिंह हमाल, बुद्धिसागर सुवेदी, एपसी वीरबहादुर ओलीलगायतले औषधी खानुभयो ।


मेयर राणाले हात्तीपाइले औषधीले कुनै हानी नगर्ने भएकाले सबैलाई ढुक्क भएर खान अनुरोध गर्नुभयो । ‘मैले त खाए, तपाईहरुले पनि खाइदिनुस् है, मेयर राणाले भन्नुभयो, सबैले औषधी खाएर अभियानलाई सफल पार्नु पर्छ ।’
सरकारले बाँकेलगायत १३ जिल्लामा हात्तीपाइले रोगविरुद्धको आम औषधी सेवन कार्यक्रम शुरु गरेको छ । बाँकेमा यो दशौं चरणको अभियान हो । शनिबार पहिलो दिन बुथमा औषधी खुवाउने र भोलीदेखि घरघरमा पुगेर औषधी खुवाउने कार्यक्रम रहेको छ । जिल्लामा ६ लाख १ हजार ८ सय ७६ जनालाई औषधी खुवाउन ४ सय १६ स्वास्थ्यकर्मी र ७ सय ८९ जना महिला स्वयंसेविकालाई खटाइएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेले जनाएको छ ।
बाँकेमा यसपाली औषधी नखानेलाई पालिकाहरुबाट दिइने सुविधा रोक्ने जिल्ला समन्वय समितिले निर्णय गरिसकेको छ । पालिकाहरुमा पनि अध्यक्षहरुले औषधी सेवन गरेर अभियानको शुरुवात गरेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !