दशगजा नजिकै वृक्षरोपण गर्दै भारत

दशगजासँगै जोडेर भारतले बनाएको सडकजस्तो बाँध । यही बाँधको छेउछेवै वृक्षरोपण गर्ने तयारी गरिएको छ ।

नेपालगञ्ज – भारतले दशगजा नजिक वृक्षरोपण गर्ने तयारी गरेको छ ।

अन्तर्राष्ट्रिय कानूनलाई मिचेर दशगजासँगै सडकजस्तो बाँध बनाएको भारतले त्यही बाँधको छेउ छेवै वृक्षरोपण गर्ने तयारी गरेको हो । वृक्षरोपणका लागि भारतले खाल्टो खनेको छ ।

एक हजार ७ सय ५१ किलोमिटरको नेपाली सीमामा दशगजासँगै जोडेर भारतले सडकजस्तो बाँध बनाइसकेको छ । त्यसको नेपालले विरोध पनि भारतले बेवास्ता गरिरहेको छ । त्यही बाँधलाई अझ मजबुद गराउन भारतले वृक्षरोपण गर्ने तयारी गरेको छ ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १५, जमुनाहागाउँ पारीपट्टी भारतले वृक्षरोपणका लागि खाल्टो खनेको पाइएको हो । दशगजा नजिक कुनै पनि काम गर्दा दुई देशका अधिकारीका बीचमा कुरा हुनुपर्नेमा भारतले एकतर्फी रुपमा बाँध बनाएजस्तै गरी वृक्षरोपण गर्न थालेको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले दशगजा नजिक गर्न थालिएको वृक्षरोपणको तयारीको निरीक्षण गरेका छन् । प्रजिअ आचार्यले भारतले आफ्नोतिर सडकको छेउमा वृक्षरोपण गर्न थालेको र हाम्रोमा पर्ने गरी नबनाउन भनेको जानकारी दिनुभयो ।

भारतले केही महिनादेखि नै वृक्षरोपणका लागि खाल्टो खनिरहेको छ । दशगजादेखि १० मिटर पनि नछोडेकोले नेपालले आपत्ति जनाउनु पर्ने आवाज उठेको छ ।


error: यो सुविधा उपलब्ध छैन !