सिंगारिदै नेपालगञ्ज

नेपालगञ्ज – राष्ट्रिय युवा संघ नेपालको नवौं राष्ट्रिय महाधिवेशको तयारीसँगै नेपालगञ्जलाई सिंगार्ने काम भइरहेको छ ।

नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघको यहि चैत २७ देखि २९ गतेसम्म नेपालगञ्जमा हुने नवौं राष्ट्रिय महाधिवेशन हुँदैछ । त्यसको तयारी तथा प्रचार सामाग्रीले नेपालगञ्ज सजिएको हो ।

कोहलपुरदेखि कार्यक्रम स्थल नेपालगञ्जको होटल स्नेहसम्म राष्ट्रिय युवा संघ नेपालको महाधिवेशन सम्बन्धि झण्डा र ब्यानर लगाइएको छ भने ठाउँ–ठाउँमा स्वागतद्वार बनाइएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने महाधिवेशनको उद्घाटन समारोहलाई भव्य बनाउन मञ्च व्यवस्थापन, आवास तथा खाद्य व्यवस्थापन, प्रतिनिधि व्यवस्थापन लगायतका कामहरु धमाधम भइरहेको राष्ट्रिय युवा संघ नेपालका प्रवक्ता महाराज गुरुङले बताउनुभयो।
महाधिवेशनको उद्घाटन समारोहलाई भव्य र ऐतिहासिक बनाउने गरी मञ्च निर्माणको कार्य भइरहेको छ ।

महाधिवेशन उद्घाटन समारोहमा नेकपा एमाले बाँकेसँगको समन्वयमा दश हजार बढि जनपरिचालन गरिने उहाँको भनाई रहेको छ ।
महाधिवेशन उद्घाटन समारोहमा पार्टी अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष रामबहादुर थापा (बादल), महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्य एवम् मोर्चा संगठन इन्चार्ज भानुभक्त ढकाल, पोलिटव्यूरो सदस्य महेश बस्नेत लगायतका नेताहरु सहभागी हुँदैछन् ।

उद्घाटन समारोहमा कलाकार बद्रि पंगेनी, राजा राजेन्द्र, अस्मिता अधिकारी, रबि वड लगायतले सांगीतिक प्रस्तुती दिने कार्यक्रम राखिएको  छ ।

महाधिवेशनमा भाग लिन देशभरीका दुई हजार बढी प्रतिनिधि र अतिथिहरु नेपालगञ्ज आउदै छन् । प्रतिनिधि तथा अतिथिलाई नेपालगञ्ज र कोहलपुरका होटलमा बासको व्यवस्था गरिएको महाधिवेशन आवास तथा खाद्य व्यवस्थापन समिति संयोजक रबिन्द्र लम्सालले जानकारी दिनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !