किशोरीलाई आइरन तथा फोलिक एसिड वितरण गरिने

नेपालगञ्ज – बाँके डुडुवाका किशोरीहरुलाई आइरन तथा फोलिक एसिड वितरण गरिने भएको छ । किशोरीहरुलाई रक्तअल्पता (एनिमिया) रोग हुनबाट बच्न तथा पोषक तत्वको बृद्धिका लागि योे कार्यक्रम शुरु गर्न लागिएको हो ।
गाउँपालिका अन्तर्गत रहेका सामुुदायिक विद्यालयका किशोरीहरुलाई आइरन तथा फोलिक एसिड वितरण गर्ने गाउँपालिका स्वास्थ्य शाखा संयोजक धनबहादुर बुढाले बताउनुभयो । गाउँपालिकामा रहेका १७ वटा सामुदायिक विद्यालयका करिब ४ सय किशोरीहरुलाई १४–१४ हप्ताको फरकमा उक्त औषधी वितरण गर्ने लक्ष्य लिएको शिक्षा शाखा प्रमुख सञ्जय कर्णले बताउनुभयो । औषधी वितरणको कार्यलाई प्रभावकारी बनाउन गाउँपालिका स्वास्थ्य शाखाद्वारा बुधबार डुडुवामा आयोजित योजना तर्जुमा गोष्ठीमा उक्त जानकारी गराइएको छ ।
गोष्ठीको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले सरकारको नीति अनुसार कार्यक्रमले किशोरीहरुको स्वास्थ्य सुरक्षामा टेवा पुग्ने भन्दै सबै किशोरीहरुलाई यो औषधी वितरण गर्नमा शिक्षकहरुको भूमिका प्रभावकारी हुनेमा जोड दिनुभयो । उहाँले स्वास्थ्य सेवाको दृष्टिले टाढा परेको होलिया राप्तीपारी र डलैपुर गाउँमा स्वास्थ्य सेवाको इकाई विस्तार गरि सेवाको प्रभावकारिता बढाउने बताउनुभयो । उहाँले गाउँपालिकाबाट प्रदान हुने सेवा सुविधा नियमित, गुणस्तरीय र प्रभावकारी कार्यान्वयनका लागि सम्पूर्ण जनशक्तिको जिम्मेवारी भएकाले निस्वार्थ भावनाले काम गर्न आग्रह गर्नुभयो ।
प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले गाउँपालिकामा स्वास्थ्य सेवा अन्तर्गत विभिन्न योजना निर्माण गरि अघि बढिरहेको बताउनुभयो । कार्यक्रममा विद्यालयका शिक्षक, स्वास्थ्य चौकी इन्चार्ज, महिला स्वास्थ्य स्वयम्सेविकालगायतको सहभागिता रहेको थियो ।


error: यो सुविधा उपलब्ध छैन !