लुम्बिनीमा ज्यादतीका घटनामा कमी आएन

नेपालगञ्ज – लुम्बिनी प्रदेशमा मानव अधिकार र ज्यादतीका घटनामा कमी नआएको तथ्यांकले देखाएको छ ।

इन्सेक लुम्बिनी प्रदेशले नेपालगञ्जमा सार्वजनिक गरेको स्थिति सूचकका अनुसार सन् २०२१ भन्दा सन् २०२२ मा घटना धेरै भएका छन् । यो प्रदेशमा सन् २०२१ म एक हजार ७ सय ८६ वटा मानव अधिकार उल्लंघन र ज्यादतीका घटना भएका थिए । सन् २०२२ मा दुई हजार ८४ वटा घटना भएका छन् ।

इन्सेक लुम्बिनी प्रदेशका संयोजक भोला महतले सन् २०२१ म भन्दा सन् २०२२ मा मानव अधिकार उल्लंघनका घटना बढ्नु दुःखदायी भएको बताउनुभयो ।

यो वर्ष निर्वाचनको वर्ष भएको र निर्वाचनका क्रममा १२ वटा घटनामा ३६ जना पीडित भएको इन्सेकले जनाएको छ । यो प्रदेशमा विभिन्न घटनामा परी २ सय ४२ बालबालिका पीडित भएका छन् । एक हजार ६ सय २३ महिला हिंसामा परेका छन् ।

लुम्बिनीमा कैदी बन्दीको जीवनमाथि असुरक्षा बढ्दो देखिन्छ । यो प्रदेशमा एक हजार ६ सय ८७ जना क्षमताको १२ वटा कारागारमा ४ हजार ४ सय ३ जना बन्दी रहेका छन् । समयमा न्याय नपाउने र न्यायालयले रुची अनुसार मुद्दालाई अघि बढाउदा कारागारमा बन्दीको संख्या बढिरहेको इन्सेक संयोजक महतको भनाई छ ।


error: यो सुविधा उपलब्ध छैन !