प्रेस चौतारीको स्थापना दिवसमा दुई पत्रकार सम्मानित
नेपालगञ्ज – प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसको अवसरमा बाँकेमा दुई जना पत्रकारलाई सम्मान गरिएको छ ।
प्रेस चौतारी, बाँकेले पत्रकार कृष्ण अधिकारी र धना केसीलाई सम्मान गरेको हो । अधिकारीलाई रेशम विरही सिर्जनशील पत्रकारिता र केसीलाई क्रियाशील पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको छ ।
पत्रकारद्वयलाई एमालेका केन्द्रीय सदस्य मो. हारुन, शान्ति ढकाल, पार्टी उपाध्यक्ष डिल्ली विसी, चौतारीका नेताहरु शिव डोटेल, पूर्णलाल चुके, रुद्र सुवेदी, भेषराज बस्नेत, जिल्ला अध्यक्ष दुर्गा रोकायले सम्मान गरेका थिए । दुवै जनालाई ५ हजार ५ सय रुपैया नगदले पुरस्कृत गरिएको थियो ।
चौतारीको स्थापना दिवसको अवसरमा पार्टीका नेता र चौतारीसम्बद्ध पत्रकारका बीचमा फुटबल खेलिएको थियो । खेलमा नेताहरुको टीम ५–३ गोलले विजयी भयो ।
दिवसकै अवसरमा चौतारीले वनभोज आयोजना गरेको छ । त्यसअघि महिला पत्रकार र शिक्षिका बीचमा फुटसल खेलाएको थियो ।