सांसद चाैधरी पक्राउ
नेपालगञ्ज – १० वर्षदेखि फरार सूचिमा रहेका प्रतिनिधि सभा सदस्य अरुण चौधरी बिहीबार बाँकेको कोहलपुरबाट पक्राउ परेका छन् ।
प्रहरीले उनलाई बाँकेको कोहलपुरबाट पक्राउ गरेको स्रोतले बताएको छ ।
प्रहरीले चौधरी पक्राउ परेको पुष्टि गरेपनि पक्राउ परेको स्थान भने खुलाइएकाे छैन । चौधरीको पक्राउपछि प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाएको छ । उनलाई पक्राउपछि जिल्ला प्रहरी कार्यालय, कैलालीमा लैजाने तयारी गरिएकाे छ ।
ट्याक्टर जलाएको मुद्दामा कैलाली जिल्ला अदालतले करिब १० वर्ष पहिले चौधरीलाई ६ महिना कैद फैसला सुनाएको थियो। अदालतको उक्त फैसला अनुसार कैद सजाय भुक्तान नगरेका चौधरी प्रतिनिधि सभा निर्बाचन २०७९ मा नागरिक उन्मुक्ति पार्टीका तर्फबाट कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।
चौधरी सहित पर्शुराम चौधरी र वीर बहादुर चौधरीलाई कैलाली जिल्ला अदालतले २०७० वैशाख ९ गते जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो ।
२०६६ भदौ ३ गते आफ्नो लु २ त २११ नम्बरको ट्याक्टर जलाएको भन्दै २०६७ भदौ २ गते कैलाली जिल्ला अदालतमा तत्कालीन बलिया गाविस ५ का महादेव बजगाईँले मुद्दा दायर गरेका थिए ।
त्यसको केही वर्ष पछि जिल्ला अदालतका न्यायाधीश विष्णु सुवेदीको एकल इजलासले तीनै जनालाई जनही छ महिना कैद र बिगो रकम असुल्न गर्न आदेश दिएका थिए ।
सोही घटनामा प्रहरीले शुक्रबार वीरबहादुर चौधरीलाई पक्राउ गरे पनि सांसद चौधरी प्रहरीले उनलाई पक्राउ गरेको थिएन ।
वीरबहादुर चौधरीले मुलुकी फौजदारी सम्झौता २०७४ को दफा १५५ बमोजिम नगद रुपैयाँ दाखिला गरी कैद मुक्त गरिपाउ भन्दै दिएको निवेदनमा अस्विकार गर्दै अदालतले ६ महिना कैद भुक्तान गर्न आदेश दिएको थियो ।
२०७४ मा लम्कीचुहाको मेयर र प्रदेश सभा सदस्यमा पराजित चौधरी २०७९ को चुनावमा कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए ।