दादुरा संक्रमित : आधा निको

नेपालगञ्ज – नेपालगञ्जमा देखिएका आधाजसो दादुरा संक्रमित सन्चो भएका छन् ।
स्वास्थ्य कार्यालय, नेपालगञ्जका खोप सुपरभाइजर नरेश श्रेष्ठका अनुसार, पुस १२ गतेयता एक सय १५ जना दादुरा संक्रमित फेला परेकोमा ५२ जना सन्चो भएका छन् । अहिले ६२ जनाको उपचार भइरहेको छ । एक जनाको मृत्यु भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकामा एक सय १३ र खजुरा गाउँपालिकामा दुई जनामा संक्रमण देखिएको थियो । नेपालगञ्जमा पुस २२ गतेदेखि दादुराविरुद्धको खोप अभियान चलाइएको छ । गम्भीर भएका विरामीलाई अस्पताल लगिएको छ भने सामान्यलाई घरमै ‘आइसोलेट’ (छुट्टै राखेर) गरेर उपचार गरिएको छ ।
नेपालगञ्जका आठ वटा वडामा खोप अभियान चलेको छ । १, ४, ५, ७, ८, ११, १४ र १५ नम्बर वडा बिहीबार पनि खोप लगाइएको छ । अहिलेसम्म ७ हजार १ सय ६३ जनालाई खोप लगाइएको छ । जिल्लामा अझै सात हजार डोज खोप स्टक रहेको र ३० हजार डोज आउदै गरेको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।











