दादुरा महामारी : दादुराको खोपसँगै भिटामिन ए खुवाइदै

नेपालगञ्ज – दादुरा महामारी फैलिएको नेपालगञ्जमा दादुराको खोपसँगै भिटामिन ए खुवाउन शुरु गरिएको छ ।

स्वास्थ्य कार्यालय, बाँकेको सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकाले दादुरा फैलिएको तीन वटा वडाबाट दादुरा खोप र भिटामिन ए खुवाउन शुरु गरेको हो ।

नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतका अनुसार, नगरका ५, ७ र ८ नम्बर वडामा दादुराविरुद्धको खोप र भिटामिन ए खुवाउन शुरु गरिएको छ ।

नेपालगञ्जको वडा नं. ५ बाट देखिएको दादुरा संक्रमणले महामारीको रुप लिएको छ । यही वडामा दुई वर्ष सात महिनाका एक बालकको मृत्यु भएको छ । नगरका अरु करिव एक दर्जन वडामा दादुरा संक्रमण देखा परेको छ ।

जनस्वास्थ्य निरीक्षक बस्नेतले ६ महिनादेखि १५ वर्ष उमेरका बालबालिकालाई दादुराविरुद्धको खोप र भिटामिन एक खुवाइएको
बताउनुभयो ।

स्वास्थ्य कार्यालयले नेपालगञ्जमा हरेक महिनाको ६ देखि ११ गते दादुराको खोप लगाउने गर्दछ । अहिले दादुरा संक्रमण देखिएका वडाका बालबालिकाले खोप नलगाएको पाइएपछि अभियानको रुपमा खोप लगाउन शुरु गरिएको हो । नेपालगञ्जमा २९ जनाबढी दादुरा संक्रमित छन् । संक्रमण बढिरहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !