खजुरा क्यान्सर अस्पतालले मुखको क्यान्सरको जटिल अप्रेसन ग¥यो

नेपालगञ्ज – सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराले जटिल अवस्थामा पुगेको मुखको क्यान्सरको सफल अप्रेसन गरेको छ ।

अस्पतालले बाँके जानकी गाउँपालिका वडा नं. ६, पिप्रहवाका राजकुमार लोनियाको ‘स्टेज–४ बी’ मा पुगेको मुखको क्यान्सरको सफल अप्रेसन गरेको हो । चिकित्सकहरुका अनुसार, यो ठूलो केस हो । साधन स्रोत पर्याप्त नभएको खजुरामा यसप्रकारको जटिल अप्रेसन हुनलाई चुनौतीपूर्ण मानिएको छ ।

अस्पतालका हेड एण्ड नेक सर्जन डा. ऋषिकेश ठाकुरले करिव आठ घण्टा लगाएर लोनियाको अप्रेसन गरेको बताउनुभयो ।

लखनउको अस्पतालले धेरै पैसा लाग्ने र निको हुने ग्यारेन्टी नभएको बताएपछि लोनिया खजुरा क्यान्सर अस्पतालमा आएका थिए । अस्पताल आएको १२ औं दिन शुक्रबार लोनिया सफल अप्रेसन गरेर घर फर्किएका छन् ।

मुख तथा अनुहारका सर्जन डा. शैलेश गौतमका अनुसार, लोनियाको घाउले छाला र हड्डी समातिसकेको थियो । मुख बन्द भइसकेको थियो । घाटीसम्म फैलिएको थियो । बंगाराको हड्डी र आँखा तलको हड्डी फालेर लोनियाको गालामा छातीको मासु निकालेर लगाइएको छ । डा. गौतमले भन्नुभयो, यो चरणमा पुगेको क्यान्सरलाई स्केज ४ बी भनिन्छ । ‘स्टेज ४ सी’मा पुगेपछि अप्रेसन गर्न मिल्दैन ।’

नेपालका ठूला अस्पतालले दिने सेवा खजुरा क्यान्सर अस्पतालले दिएको छ । यो अप्रेसन गर्न पर्याप्त पूर्वाधार र सामान चाहिन्छ । यो चरणको क्यान्सरको अप्रेसन गर्दा चार लाख रुपैया खर्च लाग्ने चिकित्सकहरु बताउँछन् ।

डा. ठाकुरले खजुरामा योसहित थाइराइडका ठूला दुई वटा अप्रेसन गरेको बताउनुभयो । अस्पतालका कार्यकारी निर्देशक डा. निरज भट्टराईले खजुरामा अहिले क्यान्सरका जटिल अप्रेसनहरु भइरहेको बताउनुभयो । उहाँले फोक्सो, रगतको नसा, नाक, कान, घाँटीका ठूल्ठूला अप्रेसनहरु पश्चिम नेपालमा पहिलो पटक खजुरामा भइरहेको जानकारी दिनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !