अस्पतालजन्य फोहोर व्यवस्थापन
नेपालगञ्ज – नेपालगञ्जमा अस्पतालजन्य फोहोर व्यवस्थापन भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाले हिरमिनियाको ल्याण्डफिल साइटको परिसरमा एकीकृत स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापक केन्द्र सञ्चालन गरेपछि अस्पतालजन्य फोहोरको व्यवस्थापन भएको हो ।
नेपालगञ्ज उपमहानगरपालिकाले ४६ लाख खर्च गरेर केन्द्र बनाएको वातावरण इन्जिनियर प्रकाश डिसीले जानकारी दिनुभयो । जिआइजेडले केही उपकरण सहयोग गरेको छ । केन्द्र सञ्चालनका लागि स्वच्छ नेपाल, हाम्रो अभियान नामक संस्थालाई जिम्मा दिइएको छ ।
संस्थाका सञ्चालक भानु भट्टले नेपालगञ्जमा ठूलो समस्याको रुपमा रहेको अस्पतालजन्य फोहोर व्यवस्थापन भइसकेको बताउनुभयो । ‘अस्पतालजन्य फोहोरलाई निर्मलीकरण गरेर व्यवस्थापन गर्नुपर्छ, भट्टले भन्नुभयो, निर्मलीकरण गर्दा काम लाग्ने निकाल्छौं । काम नलाग्ने फाल्छौं ।’ संस्थाले फोहोर उठाउनेदेखि विसर्जन गर्नका लागि एक दर्जन कर्मचारी परिचालन गरेको छ ।
यहाँका दर्जन बढी ठूला अस्पताल र क्लिनिकबाट निस्किने अस्पतालजन्य फोहोरलाई कोहलपुरको सरस्वती सामुदायिक वनमा फाल्ने गरिएको थियो । अस्पतालजन्य हानीकारक फोहोरलाई सामुदायिक वनमा जथाभावी फाल्दा संक्रमणको खतरा रहेको थियो ।
नेपालगञ्जमा दैनिक सात सय किलो अस्पतालजन्य फोहोर निस्किने गर्दछ । त्यस्ता फोहोरलाई निर्मलीकरण गरेर व्यवस्थापन गर्नुपर्छ । अस्पतालले आफैले फोहोर व्यवस्थापन गर्न सकेका थिएनन् । उनीहरुले अन्यमार्फत जहाँ पायो, त्यही फाल्ने गरेका थिए ।
नेपालगञ्जमा वर्षौसम्म फोहोर व्यवस्थापन चुनौती बन्यो । ल्याण्डफिलसाइट बनेपछि त्यो समस्या समाधान भएको छ । अस्पतालजन्य फोहोरलाई पनि ल्याण्डफिलसाइट कै परिसरमा व्यवस्थापन गर्ने मेसो मिलाइएपछि नेपालगञ्ज उपमहानगरपालिकालाई फोहोर व्यवस्थापनमा समस्या समाधान भएको छ ।