नेपालगञ्जकै मतदान केन्द्र संवेदनशील
नेपालगञ्ज – नेपालगञ्जलाई पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र मानिन्छ । नेपालगञ्ज पश्चिमका २४ जिल्लाको शिक्षा र स्वास्थ्य स्वास्थ्य सेवा लिने तथा पर्यटकीय प्रवेशद्वार पनि हो । नेपालगञ्जलाई सद्भावको शहर भन्ने गरिन्छ ।
नेपालगञ्जमा हिन्दु, मुस्लिम, सिख, क्रिस्चियन, बौद्ध धर्मावलम्बीको बसोबास रहेको छ । नेपालगञ्ज त्यस्तो शहर हो, जहाँ केही मिटरको फरकमा मन्दिर, मस्जिद, गुम्बा, चर्च र गुरुद्वारा फेला पार्न सकिन्छ ।
पश्चिमको ठूलो र व्यापारिक अनि सद्भावको यो शहरलाई निर्वाचनमा भने सुरक्षा निकायले ‘संवेदनशील’ क्षेत्रमा राखेको छ । भारतीय सीमासँग जोडिएको र सबै समुदाय मिलेर बसेपनि धमिलो पानीमा माछा मार्ने प्रवृत्ति भएका व्यक्तिले सद्भाव बिगार्न सक्नेतर्फ सचेत हुँदै सुरक्षा निकायले नेपालगञ्जलाई संवेदनशील सूचीमा राखेको हो । नेपालगञ्जसहित अरु केही निर्वाचन स्थललाई पनि संवेदनशील सूचीमा राखेर सुरक्षा निकायले विशेष सावधानी अपनाउने बताएको छ ।
बाँकेमा तीन वटा निर्वाचन क्षेत्र छन् । प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीका अनुसार, एक सय ३८ वटा निर्वाचनस्थल रहेका छन् । त्यसमा एक सय १४ वटा निर्वाचन केन्द्र संवेदनशील सूचीमा रहेका छन् । संवेदनशील सूचीका केन्द्रहरु नेपालगञ्जसहित प्रायः भारतीय सीमा जोडिएका ठाउँका रहेका छन् । प्रमुख जिल्ला अधिकारी खत्रीले धार्मिक साम्प्रदायिक सद्भाव खल्बल्याउन सक्ने र भारतसँग सीमा जोडिएका केन्द्रहरु संवेदनशील सूचीमा रहेको बताउनुभयो ।
बाँकेमा तीन लाख ३२ हजार २ सय ३१ जना मतदाता रहेका छन् । क्षेत्र नं. १ मा एक लाख २१ एक हजार एक सय, क्षेत्र नं. २ मा ९७ हजार ८ सय ९ र क्षेत्र नं. ३ मा एक लाख १३ हजार ३ सय २२ जना मतदाता रहेका छन् ।
तीन जना प्रतिनिधि सभा र ६ जना प्रदेश सभा सदस्यका लागि ८९ जनाले प्रतिस्पर्धा गरिरहेका छन् । निर्वाचन आउद एक दिन बाँकी रहेको छ । निर्वाचन केन्द्रहरुमा मतदान अधिकृतलाई खटाइसकिएको छ । आफ्नो केन्द्रमा खटिएका मतदान अधिकृतले मतदानस्थल बनाउन लागि परेका छन् । जिल्लामा ६ हजार दुई सय जना जनशक्ति खटिएका छन् । त्यसमा तीन हजार एक सय ५० जना सुरक्षाकर्मी रहेका छन् । एक हजार नौ सय ५९ जना म्यादी रहेका छन् ।
निर्वाचनलाई ध्यानमा राखेर स्थानीय प्रशासनले सीमा नाका बन्द गरेको छ । मंसीर १ गते राती १२ बजेदेखि ४ गते राती १२ बजेसम्मका लागि नाका बन्द गरिएको छ । यो अवधिमा नेपाल र भारतीय सुरक्षाकर्मीले गस्तीलगायत कडा निगरानी राख्ने निर्णय भएको छ । नेपालगञ्जमा पश्चिमको चलनचल्तीको नाका भएकाले यो नाकाबाट धेरै मानिसको आवतजावत हुने गर्दछ । स्थानीय प्रशासनले नाका सील गरेपनि थाहा नपाएर भारतका विभिन्न शहरबाट आएका मानिसको नेपालगञ्ज नाकामा भीड देखिन्थ्यो । त्यसरी आएका नेपालीलाई सुरक्षाकर्मीले भित्रिने दिएका छन् । यो नाकाबाट उपचारका लागि भारतीय शहरमा जानेको संख्या पनि बाक्लो हुने गर्दछ । यस्ता आपतकालिन सेवा लिन जान थालेका व्यक्तिलाई भारत जान दिइएको नाकामा रहेको इलाका प्रहरी कार्यालय, जमुनाहाका इन्चार्ज माधव रिजालले जानकारी दिनुभयो । स्थानीय प्रशासनले नाका बन्द भएपनि अत्यावश्यक बस्तु ल्याउन दिएको छ ।
नेपाल या भारतमा चुनाव हुँदा केही दिनका लागि सीमा बन्द गर्ने गरिन्छ । दुवै देशका सीमावर्ती अधिकारीहरुले बैठक बसेर यो निर्णय गर्दछन् । चुनावका बेलामा अपराधिक क्रियाकलाप हुन नदिन दुवै देशका सुरक्षा अधिकारी सचेत हुने गर्दछन् ।