विकासमा साथ दिन मेयरको आग्रह

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशमशेर राणाले विकास निर्माणमा स्थानीयबासीको सधै साथ र सहयोग खोजिएको बताउनुभएको छ ।
सडक निर्माणका सन्दर्भमा आइतबार ध्यानाकर्षण गर्न पुगेका नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २ घरबारीटोलबासीलाई प्रमुख राणाले विकास निर्माणमा सबैपक्षको साथ आवश्यक पर्ने बताउनुभयो ।
नगर प्रमुख राणाले बागेश्वरी मन्दिरको पुलदेखि त्रिवेणी मोडसम्म र पुलदेखि पिपलचौतारासम्म दुईवटा सडक बर्खा अगावै निर्माण सम्पन्न हुने बताउनुभयो । त्रिवेणीमोडसम्म सडक निर्माण पुरा नहुञ्जेलसम्मका लागि हिड्न लायक बनाउन तत्कालै काम शुरु गरिने आश्वासन दिदै प्रतिनिधि मण्डलका सामुन्ने नै प्राविधिकलाई काम सुरु गर्न निर्देशन दिनुभयो । त्रिवेणी मोडसम्मको सडक एडिबी परियोजनाअन्तर्गत निर्माण हुने भन्दै उहाँले प्रत्येक वडामा पाँच सय मिटर सडक निर्माण गर्ने योजना अनुसार पिपलचौतारासम्म बर्खा अगावै निर्माण हुने बताउनुभयो ।
संघीय सरकारको १० करोड र उपमहानगरपालिकाको १० करोड गरि २० करोडमा नगरका २३ वटै वडामा पाँच सय मिटर सडक निर्माण गरिने उहाँले बताउनुभयो ।
सडक निर्माणसँगै मापदण्डभित्रका संरचना तत्काल हटाएर सहयोग गर्न प्रमुख राणाले आग्रह गर्नुभयो । उहाँले सडक निर्माण कार्य तत्कालै सुरु गर्न पनि प्राविधिकलाई निर्देशन दिनुभयो ।
वडा अध्यक्ष सुनीलसिंह हमालले सडक निर्माणमा उपमहानगरपालिकालाई वडा कार्यालयले पनि सहयोग गर्ने बताउनुभयो । वडाभित्रका सडक निर्माणका लागि निरन्तर लागिपरेको उहाँको भनाई छ ।
स्थानीय बासिन्दा सुरेन्द्र श्रेष्ठले सडक निर्माण कार्यमा भएको ढिलाईले टोलबासी समस्यामा परेको बताउनुभयो । नगर प्रमुखबाट तत्काल सडक निर्माण हुने जानकारी पाएपछि स्थानीयबासी खुशी भएर फर्केको उहाँले बताउनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !