विकास, समृद्धि र भाइचारका लागि जीवनभरि लडिरहनेछु : इश्तियाक राई

नेपालगञ्ज – जनता समाजवादी पार्टीबाट बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले यो क्षेत्रको विकासका मुद्दामा आफू जुनसुकै समयमा, जोसुकैसँग बहस गर्न तयार रहेको बताएका छन्।

नेपालगञ्ज जेसीजले आयोजना गरेको सडक बहस कार्यक्रम ‘ककस’मा बोल्दै उनले भने ‘आउनुहोस्, कसले विकास गरेको छ र कसले भ्रष्टाचार गरेको छ यही चोकमा बहस गरौं। तपाईं सजिलो लाग्ने जुनसुकै चोकमा बहस गरौं। काम गरेका प्रमाणहरू छन्। फेरि पनि गर्नसक्छु भन्ने आधारहरू छन्।’

उनले नेपालगञ्ज र यो निर्वाचन क्षेत्रको विकास, समृद्धि अनि सामाजिक सद्भाव र आपसी भाइचारबाहेक आफूले अरू कुनै पनि स्वार्थ नराखेको भन्दै यहाँको समग्र विकासका लागि आफू संसद भए पनि नभए पनि लागिरहने प्रण पनि गरे।

यहाँको समग्र विकासका दृष्टिकोणहरूलाई समेटिएको ‘१० दृष्टि’ केही दिनअघि मात्रै उम्मेदवार राईले आफ्ना चुनावी प्रतिवद्धताका रूपमा सार्वजनिक गरेका थिए।

‘मैले भनेका यो योजनाका कामहरू प्रतिवद्धतामात्रै होइन। यी मेरा अठोटका लिखत पनि हुन्। यसलाई सुरक्षित राख्नुहोला। मैले मेरा अठोट पूरा गर्न सकिनँ भने फेरि भोट माग्न आउँदा प्रश्न गर्नुहोला’ उनले भने।

बहसमा सहभागी भएका जसपाका मोहम्मद इश्तियाक राई, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विनोद अग्रहरि र स्वतन्त्र उम्मेदवार दीवाकर खनाललाई बहस सुन्न आएका सहभागीले प्रश्नहरू सोधेका थिए।


error: यो सुविधा उपलब्ध छैन !