व्यापार संघ बन्यो, मिनि जुमा

नेपालगञ्ज – नेपालगञ्जका व्यापारीहरु मिलेर जुमा स्पोर्टस् क्लव बनाए । क्लवले केही वर्षमै ठूल्ठूला कार्यक्रम गर्यो । व्यापारीहरुलाई खेलकुदप्रति आकर्षित गरायो ।
बस्तुगत संघहरुका बीचमा फुटबल प्रतियोगिता गरेर जुमाले व्यापारीलाई फुटबलमा लगानी गर्न प्रोत्साहन नै गर्यो । पैसा भएका व्यक्तिलाई खेलकुदमा आकर्षण गर्ने जुमाको उद्देश्यभित्रै रहेको छ । पैसाको पछाडी दिमाग लगाइरहने व्यापारीले आफ्नो स्वास्थ्यका लागि केही समय छुट्याउनु पर्छ भन्ने जुमाले सिकाइरहेको छ ।
नेपालगञ्जमा गठन भएको जुमा स्पोर्टस् क्लव छोटो समयमै चर्चित भइसकेको छ । अब भन्नु होला, केही प्रतियोगिता गर्दैमा चर्चित हुन्छ ? होइन, जुमा चर्चित भएको दरिलो प्रमाण नेपालगञ्ज उद्योग बाणिज्य संघको निर्वाचनलाई हेर्दा हुन्छ । संघमा जुमाका अध्यक्षसहित पाँच जना सदस्य विजयी भएका छन् । अझ अध्यक्षमा विजयी भएका अब्दुल वाहिद मन्सुरी (चुन्ना) पनि जुमाका सल्लाहकार रहेछन् । यो संख्यालाई हेर्दा कसैले व्यापार संघ कि जुमा क्लव भन्देला भन्ने डर पो भयो त । जबकी संघमा जुमाकै बर्चस्व देखिहालियो ।


जुमाका अध्यक्ष भीम रानाभाट, सदस्यहरु हरिलाल न्यौपाने, श्यामसुन्दर अधिकारी, धर्मराज अर्याल र विष्णु श्रेष्ठ संघको सदस्यमा विजयी भएका छन् । व्यापार संघमा १२ जना सदस्य हुन्छन् । त्यसमध्येमा पाँच जना सदस्य जुमाका छन् ।
आफ्ना अध्यक्षसहित पाँच जना व्यापार संघमा विजयी भएपछि उत्साहित भएको जुमाले शनिबार विजयीहरुलाई सम्मान गरेको छ । जुमाका उपाध्यक्ष दीर्घराज आचार्य, सचिव विष्णु श्रेष्ठले समावेशी प्यानलका चुनावी कमाण्डर ईश्वर पोखरेल र कृष्णप्रसाद श्रेष्ठलाई अतिथि बनाएर विजयी पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरेको हो ।
नवनिर्वाचित अध्यक्ष चुन्नाले व्यापारीहरु पैसाको पछाडीमात्रै भाग्ने नभई आफ्नो स्वास्थ्यका लागि समय छुट्याउनु पर्ने बताउनुभयो । अध्यक्ष चुन्नाले आफू विहान निरन्तर जीम जाने गरेको खुलाउनुभयो ।
जुमाका अध्यक्ष एवं संघमा सदस्य निर्वाचित भीम रानाभाटले जुमाबाट पाँच जना सदस्य निर्वाचित भएको गर्व गर्नुभयो ।
खेलकुदको बढावा दिन गठन गरिएको जुमा स्पोर्टस् क्लव व्यापारी नेता बन्ने भर्याङजस्तो पो भएको छ । आगामी दिनमा व्यापार संघमा निर्वाचित हुन जुमाको सदस्य हुनुपर्ने हल्ला नभई वास्तविकता नहोला भन्न सकिदैन ।


error: यो सुविधा उपलब्ध छैन !