खजुरामा मन्थन गर्दै गठबन्धनका उम्मेद्वार किशोरसिंह राठौर
नेपालगञ्ज – बाँके क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार किशोर सिंह राठौरले खजुरा क्षेत्रका कांग्रेस अगुवा कार्यकर्तासँग छलफल गरेका छन् ।
नेपाली कांग्रेसका सह-महामन्त्री समेत रहेका क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार राठौरसँग खजुरास्थित खजुरा मिनि पार्कमा वृहत अन्तरक्रिय तथा छलफल कार्यक्रम शुक्रबार सम्पन्न भएको हो ।
छलफल कार्यक्रममा उम्मेद्वार राठौरले पार्टी र गठबन्धनका सबै उम्मेद्वारलाई जिताउने गरी अघि बढ्नु पर्ने धारणा राखेका थिए । सह-महामन्त्री राठौरे बाँके जिल्लासँगको आफ्नो पुर्ख्यौली नाता रहेकाले यहाँको विकास निर्माणमा आँफुले सेवा गर्ने अवसर दिनका लागी जनतामाझ जान तयार रहेको बताए । राठौरले पार्टीको मूल्य र मान्यता स्थापित गर्न सँधै लागीपर्ने कुरामा जोड दिएका थिए । सत्तारुढ गठबन्धनबाट संघका उम्मेदवार रहेका राठौरले क्षेत्र नं. ३ का कांग्रेस कार्यकर्ता र यहाँका जनताको विश्वास भएकाले यहाँ चुनाव लड्न तयार भएको पनि बताएका थिए ।
छलफल कार्यक्रममा प्रतिनिधि सभा सदस्य उम्मेद्वार राठौरलाई जिताउन कांग्रेसका प्रजातन्त्र सेनानीहरुले सम्पूर्ण कार्यकर्ताहरुलाई आह्वान गरेका थिए ।
प्रजातन्त्र सेनानी केदार घिमिरेले संगठन मजवुत भएकाले चुनावमा एक ढिक्का भएर लाग्ने तयारी गरेको बताए ।
संगठनमा भेदभाव नहोस् भन्दै छलफल कार्यक्रममा उपस्थित सहभागी अगुवा कार्यकर्ताहरुले पूर्वाग्रही ढङ्गले कारबाहीमा परेका कार्यकर्तामाथिको अनुशासनको कारबाही फुकुवा हुनुपर्ने माग गरेका हुन् ।
छलफलमा सहभागी खजुरा-६का वडा सभापति गोरे खाँले संगठन मजवुत भएकाले संगठको चुस्त दुरुस्त भएर परिचालान हुँदा चुनाव जित्न अप्ठ्यारो नहुने बताएका छन् ।
खजुरा-४ का अगुवा कार्यकर्ता गगन वि.क.ले कार्यकर्ताहरुमाथि न्यायोचित ब्यवहार हुनुपर्ने कुरा राखेका थिए । प्रजातन्त्र सेनानी हरि ढुङ्गानाले पुष्प गुच्छा दिएर सह-महामन्त्री राठौरलाई स्वागत गरेका थिए ।
नेपाली कांग्रेस क्षेत्र नं. ३ (साविक क्षेत्र नं.४)का पूर्व सभापति महेन्द्र मल्लले सञ्चालन गर्नु भएको छलफल कार्यक्रममा सहभागीहरुले संगठनका सबै संयन्त्र सँगै गठबन्धनलाई चुस्त दुरुस्त रुपमा चलायमान गराउनु पर्ने माग राखेका थिए ।