कारकादोमा निशुल्क स्वास्थ्य शिविर
नेपालगञ्ज – शहीद दिवसको अवसरमा नेपालगञ्जको कारकादोमा विशेषज्ञ सेवासहितको निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
नेपालगञ्ज–१८ मा पर्ने कारकादोको लग्दहवा माविमा विहानदेखि निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । पौखरी बहुउद्देश्यीय सहकारी संस्थाले शिविरको आयोजना गरेको हो । शिविरमा फिजिसियन सेवा, आँखा, कान, दात र कान परीक्षण तथा सुगर र पे्रसर परीक्षण गरिएको छ ।
शिविरमा आँखा रोग विशेषज्ञ डा. प्रचण्ड गौतम, डा. रजनी शाहलगायतका विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीले सेवा दिएका छन् ।
शिविरको उद्घाटन गर्दै वडाध्यक्ष दीपक बर्माले जनताले घरआँगनमै निशुल्क स्वास्थ्य जाँच गराएर पौखरीले जनतामुखी कार्यक्रम गरेको बताउनुभयो । वडाध्यक्ष बर्माले जनताले प्रत्यक्ष सेवा पाउने यसप्रकारको कार्यक्रममा हातेमालो गर्न तयार रहेको बताउनुभयो ।
पौखरीले अघिल्लो वर्षहरुमा पनि स्वास्थ्य शिविर आयोजना गरेको थियो । सहकारीका अध्यक्ष हरिप्रसाद तिमिल्सेनाले गतवर्ष साढे पाँच सय बढीलाई सेवा दिएको जानकारी दिनुभयो ।
जिल्ला स्वास्थ्य कार्यालयका अंगदबहादुर शाही, मावि लग्दहवाका प्रधानाध्यापक दीपक चेम्जोङ, पौरखीका उपाध्यक्ष शान्तिराज रेग्मी, सल्लाहकार कमानसिंह बोहरा, बचत तथा ऋण जिल्ला सहकारीका अध्यक्ष प्रकाश ज्ञवाली, व्रिनोजका दीपक बिसीलगायतले आफ्नै ठाउँबाट निशुल्क स्वास्थ्य जाँच गर्न पाउनु अति राम्रो कार्य भएको बताउनुभयो ।