नरैनापुरकाे धेरै ठाउँ जलमग्न


नरैनापुर – लगातारकाे वर्षाका कारण बाँकेको नरैनापुर आसपासका विभिन्न क्षेत्र जलमग्न भएका छन् । मुख्यगरी नरैनापुरको वडा नं. १ बनिया गाँउ, ४को घोडदौरिया, ५ को जमुनाहा, ६ को दोँदरा क्षेत्रमा रहेका घरहरुका पानी पसे पछि जनजीवन प्रभावित बनेको गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले बताउनु भयो ।
गाँउपालिका अध्यक्ष शाहले वर्षाले नरैनापुर आसपासका विभिन्न वडाहरु जलमग्न हुनुका साथै दर्जनौं बढी घरमा पानी पसेको जानकारी दिनु भयो । उहाँले भन्नुभयो,“विभिन्न ठाउँबाट घरमा पानी पसेको गुनासो आइरहेको छ यकिन तथ्याङ्क सकंलन गर्न वडा अध्यक्ष सहित टोल, टोलको अनुगमन गरिरहेको छु ।”
वडा नं. ४ का अध्यक्ष मनोज शर्माले भन्नुभयो, घोडदौरीया गाँउमा १० वटा घरमा क्षति पुगेको बताउदै निरन्तर परिरहेको पानीले अझ बढी क्षति हुने सम्भावना रहेको सचेत हुन स्थानीयहरुलाई अपिल गरेको बताउनु भयो ।
वडा नं. ६ का अध्यक्ष प्रेम मौर्यले भने कतिपय घरमा खोलाको पानी पसिसकेको अवस्था छ । समयमा पानी नपरे पछि धानबाली लगाउन नपाएर समस्या झेल्दै आएका नरैनापुरबासीलाई दैनिक छाक टार्न समस्या भएको अवस्थामा बाढी बस्तिमा पस्न थालेपछि थप समस्या भएको उहाँले गुनासो गर्नु भयो ।
घरभित्रै पानी पसेपछि स्थानीयहरुले घरमा भएका सामान सार्न थालेका छन् । त्यहाँका स्थानीयले घरदेखि माथि पाल टाँगेर वस्न बाध्य भएका छन् । घरभित्र पानी पसेपछि घरदेखि माथि चौरमा पाल टाँगेर वस्नु परेको स्थानीय लियाकत साईले बताउनु भयो ।
यता नरैनापुर गाँउपालिका अध्यक्ष शाहले निरन्तर पानी परिरहेकोले सचेत हुन आग्रह गर्दै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बाढी प्रभावित क्षेत्रमा पुगिसकेको जानकरी दिनु भयो ।

error: यो सुविधा उपलब्ध छैन !