क्षेत्र नं. २ मा किरण, वीरेन्द्र र सुनिलको नाम सिफारिस

नेपालगञ्ज – नेपालगञ्ज बजार समेटिएको बाँके क्षेत्र नं. २ बाट प्रतिनिधि सभामा चुनाव लड्नका लागि नेपाली कांग्रेसले किरण कोइराला, वीरेन्द्रबहादुर शाह र सुनिलसिंह हमालको नाम सिफारिस गरेको छ ।

पार्टीका सभापति एवं पूर्वप्रधानमन्त्री स्व. सुशील कोइरालाको निर्वाचन क्षेत्रमा कांग्रेसले गत निर्वाचनमा राप्रपालाई छोडेको थियो । गठबन्धन कायम रहेमा यसपाली यो क्षेत्रबाट जसपाले टिकट पाउने हल्लाका बीच कांग्रेसले कोइराला, शाह र हमालको नाम सिफारिस गरेको हो ।

किरण स्व. कोइरालाकी भाइबुहारी एवं पार्टीको पूर्वजिल्ला सभापति हुन् । शाह तरुण दलका जिल्ला अध्यक्ष र १३ नम्बर वडाका पूर्वअध्यक्ष तथा हमाल पार्टीको क्षेत्रीय सचिव र वडा नं. २ का पूर्वअध्यक्ष हुन् ।

पूर्वप्रधानमन्त्री स्व. कोइरालाको क्षेत्र भएकाले क्षेत्र नं. २ कांग्रेसले कसैलाई छोड्न नहुने यहाँका कांग्रेसले लबिङ गर्ने गर्दछन् । केन्द्रबाट त्यसको विपरित अर्कै पार्टीलाई उम्मेदवार बनाउने गर्दछ । यसपाली यहाँका कांग्रेसले रुखमा नै भोट हाल्ने वातावरण मिलाउन तीब्र लबिङ गरिरहेका छन् । जसपासँग गठबन्धन भएमा भने क्षेत्र नं. २ कांग्रेसको भागमा पर्न गाह्रो देखिन्छ । यहाँबाट गत निर्वाचनमा जसपाले जितेको थियो । दुई पार्टीका बीचमा गठबन्धन हुँदा नेपालगञ्ज उपमहानगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा जसपा रहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !