१४ घरगोठमा डोजर

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २० गायत्रीनगरको १४ घरगोठमा डोजर चलाइएको छ । आदर्श मावि, राँझाको जग्गामा बनाइएको भन्दै ती घरहरु भत्काइएको हो ।
वडा कार्यालय र विद्यालयको पहलमा शुक्रबार बल प्रयोग गरेर १२ वटा घर र दुई वटा गोठमा डोजर चलाइएको हो । गायत्रीनगरमा ३ विगाह ७ कठ्ठा १४ धुर जग्गामा वर्षौदेखि सुकुम्बासी/भूमिहीनका नाममा ७६ घरपरिवारले कब्जा गरी घर टहरा बनाएको स्कूलले दावी गर्दै आएको छ ।
स्कूल र त्यहाँ बसेका बासिन्दाका बीचमा लामो समयदेखि विवाद, मुद्दामामला चलिरहेको छ । स्कूलले हेलो सरकारमा उजुरी गरेपछि गृहमन्त्रालय हुँदै स्थानीय प्रशासनले अतिक्रमण हटाउने आदेश दिएपछि शुक्रबार केही घरहरु हटाएको वडाध्यक्ष कृष्ण कार्कीले बताउनुभयो । कार्कीका अनुसार, कही पनि जग्गा नभएको कागज गर्न भन्दै त्यहाँ बसेकालाई फाराम दिंदा ७० जनाले लगेका थिए । त्यसमध्ये ३१ जनाले फाराम भरेर बुझाए । २२ जनालाई नालापारी सिफ्ट गरिएको छ । अब केही घरलाई पल्लो नाला किनारमा सार्ने वडा कार्यालयले तयारी गरेको छ ।
शुक्रबार डोजर चलाएको घरहरु खाली रहेको वडा कार्यालयले दावी गरेको छ । यद्यपि, कतिपय घरमा मानिस थिए । एक महिलाले घरबाट निस्किन नमानेपछि नेपालगञ्जबाट महिला प्रहरी पठाएर निकालिएको थियो ।
विद्यालयका प्रधानाध्यापक प्रकाश आचार्यले गायत्रीनगरको जग्गा २०३६ सालमा विद्यालयको नाममा रहेको जानकारी दिनुभयो । करिव १० बर्षदेखि विद्यालयको जग्गामा बसोबास गर्दै आएका स्थानीयलाई बारम्बार हट्न आग्रह गर्दा पनि अटेरी गरि बसोबास गर्दै आएको आचार्यले बताउनुभयो । सुकुम्बासीको नाममा गैरसुकुम्बासीले विद्यालयको जग्गा कव्जा गरेको आचार्यको दावी थियो ।
राज्यले जवरजस्ती बस्ती हटाएपनि आफूहरुले बस्ती नछोड्ने स्थानीयले दावी गरेका छन् । बस्तीबाट घर हटाएपनि ज्यानलाई त्रिपाल मुनी भएपनि जोगाउने स्थानीय शिवलाल शर्माले बताउनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !