मन्त्री राईलाई नेपालगञ्ज उपमहानगरपालिकाको सम्मान

नेपालगञ्ज – भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईलाई मंगलबार स्वागत तथा सम्मान गरिएको छ ।

बाँके क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद समेत रहनुभएका नवनियुक्त मन्त्री राईलाई नेपालगञ्ज उपमहानगरपालिकाले औपचारिक रुपमा स्वागत तथा सम्मान गरेको हो ।

नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्धिन राई, प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेत, वडा अध्यक्ष तथा कार्यपालिका सदस्य र कर्मचारीहरुलाई मन्त्री राईलाई स्वागत तथा सम्मान गर्दै बधाई ज्ञापन गर्नुभयो ।

नगर प्रमुख विष्टले राईको कार्यकालमा नेपालगञ्जले लाभ पाउने बिश्वास ब्यक्त गर्नुभयो । उहाँले छोटो समयावधीमा पनि मन्त्री राईले नेपालगञ्ज र बाँके जिल्लाका लागि दीर्घकालिन महत्व राख्ने योजना पर्ने आशा र अपेक्षा राखिएको बताउनुभयो ।

उपप्रमुख कमरुद्धिन राईले मन्त्री राईको कार्यकालमा नेपालगञ्जले विकासको थप फड्को मार्ने भन्दै यहाँ चक्रपथ निर्माणका लागि ध्यान दिन आग्रह गर्नुभयो ।

मन्त्री राईले आफ्नो कार्यकाल छोटो भएपनि नेपालगञ्जको मुहार फरिने गरि काम गर्ने बताउनुभयो । दुईवटा ठूला योजना केही दिनमै सार्वजनिक गर्ने प्रतिवद्धता ब्यक्त गर्दै उहाँले यसले दीर्घकालिन फाईदा पुग्ने बताउनुभयो ।

मन्त्रालय मातहत विभिन्न विकास निर्माणका काम भइरहेको भन्दै उहाँले मन्त्रीको गृह जिल्ला भएकाले उच्च प्राथमिकतामा पर्ने बताउनुभयो ।
उहाँले अन्य मन्त्रालयसँग समेत समन्वय र सहकार्यमा काम अघि बढाउने बताउनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !