तीन किलो अफिमसहित दुई जना पक्राउ

नेपालगञ्ज – तीन किलो अफिमसहित दुई जना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय, कोहलपुरका डीएसपी ऐनबहादुर मल्लका अनुसार, जाजरकोटका गोपाल रोकाय र लेखराज विष्ट तीन किलो आठ सय ग्राम अफिमसहित पक्राउ परेका छन् । गोपाललाई चिसापानीको जंगल र विष्टलाई कोहलपुरको चप्परगौडीबाट नियन्त्रणमा लिइएको हो । लेखराजले चलाएको मोटरसाइकल नेपालगञ्जको बसपार्कबाट नियन्त्रणमा लिइएको छ ।

भे ७ प ८६७७ नम्बरको मोटरसाइकलमा सवार जाजरकोटका रोकाय चिसापानीमा नेपाली सेनाको चेकप्वाइन्ट नजिकबाट शंकास्पद तरिकाले जंगलतिर भागेका थिए । गस्तीमा रहेको नेपाली सेना, बाँके राष्ट्रिय निकुञ्ज तथा इप्रका चिसापानीको टोलीले रोक्न खोज्दा झोला फालेर भागेका भागे । उनलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिए ।

मोटरसाइकल चालक विष्टलाई पछि चप्परगौडीबाट नियन्त्रणमा लिइएको थियो । डीएसपी मल्लका अनुसार, दुवै जनालाई लागु औषध नियन्त्रण ऐन २०३३ को दफा ४ (ङ) र (च) अनुसार कारबाही प्रक्रिया अघि बढाइएको छ । यो ऐनको दफा १४ (छ) ३ बमोजिम १५ वर्ष जन्म कैद र पाँच लाखदेखि पच्चिस लाख रुपैयासम्म जरिवानाको व्यवस्था छ ।


error: यो सुविधा उपलब्ध छैन !