नेपालगन्जमा अत्याधिक गर्मी, विद्युत अनियमित


नेपालगन्ज – नेपालगञ्ज देशकै बढी गर्मी हुने शहरका रुपमा चिनिन्छ । केही दिनदेखि यहाँको तापक्रम ४० डिग्री आसपासमा छ । यो गर्मीको शहरमा विद्युत भने नियमित हुन सकेको छैन । छिन–छिनमा बत्ती जाने र लो भोल्टेजको समस्याले स्थानीय आक्रोशित भएका छन् ।

नेपालगञ्जमा नेपाल र भारतको विद्युत लाइन जोडिएको छ । दुई देशबाट जोडिएको लाइनले यहाँ बत्तीको समस्या छैन । तर, आन्तरिक व्यववस्थापन मिलाउन नसक्दा र बेलाबेलामा देखिने समस्याले गर्दा विद्युत अनियमित भइरहेको छ ।

विद्युत नियमित नहुँदा स्थानीयवासी स्वस्फूर्त आन्दोलनको तयारीमा जुटेका छन् । शुक्रबार विद्युत कार्यालय घेराउ गर्न जाने तयारी भएको छ । बिहीबार नेपालगञ्ज उद्योग बाणिज्य संघको अगुवाईमा एउटा टोली विद्युत कार्यालय पुगेको छ । विद्युत अनियमित रोक्न र लो भोल्टेजको समस्या समाधानका लागि दबाब दिन टोली विद्युत कार्यालय पुगेको थियो । संघका अध्यक्ष अब्दुल वाहिद मन्जरीको अगुवाईमा गएको टोलीले विद्युत अनियमितलाई तत्काल समाधान गर्न माग गरेको थियो ।

नेपालगञ्जमा भारतबाट १२ र नेपालबाट १८ मेगावाट विद्युत आइरहेको छ । यतिले नेपालगञ्ज र आसपासलाई पुग्ने विद्युत कार्यालयले जनाएको छ । विद्युत पुग्ने मात्रामा आइरहदा बत्ती भने छिनछिनमा जाने र लो भोल्टेज आउने समस्या रहेको छ । विद्युत प्राधिकरण केन्द्र, नेपालगञ्ज वितरण शाखाका प्रमुख दिवाकर प्याकुरेलले केही समस्याले गर्दा विद्युत अनियमित भएकाले त्यसलाई समाधान गर्नतिर लागेको बताउनुभयो ।

भारतबाट १२ मेगावाटसम्म विद्युत दिइरहेको छ । नेपालले त्यो सबै छोड्न सकेको छैन । पुरानो भएकाले तारको समस्या रहेको छ । भारतले १२ मेगावाटसम्म विद्युत दिएपनि एघार, साढे एघारसम्म मात्रै छोडिरहेको विद्युत कार्यालयका कर्मचारीहरु बताउँछन् । १२ मेगावाट नै छोड्दा तार चुडिने डर रहेको छ ।

भारतले दिएको लाइन वीपीचोकदेखि दक्षिणतिर सप्लाई हुन्छ । यो नेपालगञ्ज वितरण केन्द्रबाट छोडिन्छ । वीपीचोकदेखि उत्तरतिर बसपार्कमा रहेको सबस्टेशनबाट लाइन छोडिन्छ । यहाँ नेपालको लाइन आउँछ । भारतबाट आएको भन्दा नेपालबाट आएको लाइन जोडिएका क्षेत्रमा बढी समस्या हुने गरेको छ ।

भारतले दिनमा तीन चार पटक उतैबाट बत्ती काट्ने गर्दछ । बुधबार तीन पटक काटेको थियो । बिहीबार विहान दश बजेभित्रमा दुई पटक गरेर ३४ मिनेट बत्ती काटेको थियो । भारतले बत्ती काट्दा विद्युतका कर्मचारीले केही गर्न सक्दैनन् । कार्यालय प्रमुखले भारतमा सम्पर्क गर्नुपर्छ । कतिबेला त भारतीय कर्मचारीले फोनसमेत उठाइदिदैनन् । बिहीबार विहान ६.५० देखि ७.२ बजे र ७.४५ देखि ८.७ बजेसम्म भारतबाटै बत्ती गएको थियो ।

भारतको नानपाराबाट ३३ केभी प्रशारण लाइन जोडिएको छ । ३३ भनिएपनि भारतले २४ केभीसम्म छोड्ने गरेको छ । यो लो भोल्टेजले गर्दा नेपालगञ्जमा समस्या हुने गरेको छ । कोहलपुर हुँदै बसपार्क सबस्टेशनमा आउने नेपाली लाइन त अझ बढी अनियमित रहेको छ ।

बढ्दो गर्मीसँगै होटल, कार्यालय, घरघरमा जोडिएको एसी, फ्रिजहरु र नेपालगञ्जका हरेक चोकमा जडान गरिएको हाइमास्ट लाइनले बढी बत्ती तान्ने गरेको छ । लो भोल्टेजले हुने समस्या, तार चुडिने र ट्रान्सफर्मरहरु बिग्रिएर पनि बत्ती अनियमित भइरहेको छ ।

गर्मी महिनामा नेपालगञ्जमा अत्याधिक गर्मी हुने र बत्तीको समस्या देखा पर्ने गर्दछ । यो अहिलेको मात्रै नभएर सधैंको समस्या हो । भारतले चाहिने जति विद्युत दिंदा पनि ५० वर्षअघि जडान गरिएका तारहरु परिवर्तन गर्न नसक्दा समस्या ज्यूँका त्यूँ रहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !